संसदको शिक्षा तथा स्वास्थ्य समितिले तयार पारेको प्रतिवेदनसहितको चिकित्सा शिक्षा विधेयक यतिबेला संसदमा पेश भएको छ । यहि विधेयकलाई संशोधन गरिनुपर्ने मागसहित डा गोविन्द केसी अनसनरत छन् । अब डा. केसीको माग अनुसार नै विधेयक पारित हुन्छ या समितिले तयार पारेको प्रतिवेदन अनुसार पारित हुन्छ ? प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद लगातार अवरुद्ध गरेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयक प्रस्तुत गर्न पाएका छैनन् । अब विधेयक के हुन्छ ? प्रतिपक्षले विरोध गरिरहँदा सरकार विधेयक पारित गराउन लागि के गर्ला ? यिनै विषयमा शिक्षा तथा स्वास्थ्य समितिका सदस्यसमेत रहेका नेकपाका सांसद खगराज अधिकारीसंग हिमालय पोष्टले कुराकानी गरेको छ ।


ADVERTISEMENT


शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसम्बन्धि प्रतिवेदन बनाएर संसदमा पेश गरेको छ । तपाई पनि यो समितिको सदस्य हुनुहुन्छ । यो विधेयकको मर्म के हो ?


ADVERTISEMENT

# # #


सर्वसाधारणका छोराछोरीको स्वास्थ्य शिक्षामा पहुँच पुग्नेगरी हामीले यो विधेयक ल्याएका छौँ । १० वर्षपछि मेडिकल शिक्षालाई गैरनाफामुलक बनाउने गरी हामीले कानुन बनाउँदा तथाकथित अभियन्ताहरु रन्थनिएर आज सिण्डिकेटलाई कायम गर्नका लागि तमासा देखाईरहेका छन् । चिकित्सा शिक्षासंग सम्बन्धित अहिलेसम्मका सम्पूर्ण अनुभवहरु, ६ वटा समिति र कार्यदल आयोगहरुका सुझावहरुलाई समेत समाविष्ट गर्दै सम्पूर्ण सरोकारवालाहरुसंग ३२ पटकसम्म छलफल गर्दै हामीले यो प्रतिवेदन र विधेयक तयार गरेका छौँ । त्यस कारण  यो विधेयक अहिलेसम्मका विधेयकभन्दा उत्कृष्ट रहेको छ । गरिब, निमुखा र चिकित्सा शिक्षामा पहुँच नपुगेका आमजनसमुदायलाई पहुँचमा पुर्याउनेगरी, १० वर्षपछि सम्पूर्ण नेपालीका छोरोछोरीहरु जो क्षमता र योग्यता राख्छन्, तिनीहरुले पढ्न पाउने गरी यो विधेयक आएको छ ।

तर, विधेयकलाई रोक्न भनेर डा. केसी अनसन बस्नुभएको छ । के भन्नुहुन्छ ?

उहाँ अन्त कतैबाट सञ्चिालित हुनुहुन्छ भनेर त उहाँका मागबाटै थाहा हुन्छ । यो शान्ति प्रक्रियालाई बिथोल्ने, संविधान सभाबाट जारी भएको संविधानलाई बिथोल्नेसम्मका माग राखेर उहाँ लाग्नु भएको छ । त्यसमा उहाँ जानेर लाग्नुभयो वा नजानेर, त्यो थाहा छैन । उता उहाँ अनसन बस्नुहुन्छ, यता प्रतिपक्षीले त्यही मुद्दा उठाउँछ । उहाँ प्रतिपक्षीको गुणगान गाउनुहुन्छ, सत्तापक्षका नेता र प्रधानमन्त्रीलाई तथनाम गाली गर्नुहुन्छ । यो उहाँलाई कसले उक्साएको हो ? एउटा सरकारी अस्पतालको प्रध्यापक डाक्टर हो, प्राध्यापकको बोली र भाषाशैली त्यस्तै हुन्छ ? यो उहाँले जान्ने कुरा हो । उहाँले नै मेरो ज्यान बचाइदिनुस् भनेर हामीले नाइटभिजन हेलिकोप्टरबाट काठमाडौँ ल्याएका हौँ । तर उहाँसंग युरोपियन युनियन लगायत को-को बस्छन् भन्ने बारेमा हामीले रिपोर्ट राखेका छौँ ।

के रिपोर्ट छ ? यसको बारेमा थप खुलासा गर्नुस न ।

राजनीतिक डिस्कोर्सलाई बिथोलेर सरकारलाई काम गर्न नदिनका लागि अहिले बजारमा बिक्ने अनुहार गोविन्द केसी हुनुहुन्छ, उहाँलाई सुताएर सरकारलाई गलाउने उहाँहरुको योजना हो । हरकुरामा सरकारलाई चौतर्फी नाकाबन्दी गर्ने र सरकारलाई विफल पार्न सकिन्छ कि भन्ने उहाँहरुको प्रयत्न छ । अरु देशी बिदेशी को को शक्तिहरुसहित त्यसमा केही मिडियाकर्मीहरु, केही अभियन्ताहरु समेत संलग्न हुनुहुन्छ । यसका रहस्यहरु विस्तारै खुल्दै जान्छन् ।

यता डा. केसी अनसन बसिरहनु भएको छ भने उता प्रमुख प्रतिपक्षीले अस्पतालको कुरा झिकेर संसद अवरुद्ध गरिरहेको छ । यसमा के भन्नुहुन्छ ?

उहाँहरु अहिले नै क्याबिनेट बैठक बसेर अहिले नै ती अस्पताल केन्द्रीय मातहतमा लिने भन्नुहुन्छ । हिजो मनमोहनलाई अस्पतालको बेडबाट जवाफ दिन लाउने को ? यही विधेयकमा मनमोहन अस्पताल हुनुहुन्न भन्ने को ? आज ती अस्पताल भन्दा पनि त्यहाँ साइनबोर्ड मात्रै झुण्ड्याइएको छ । एउटा पनि डाक्टर र स्वास्थ्यकर्मी छैनन । ती अस्पताललाई केन्द्रमा मात्रै ल्याउने कि पूर्वाधार बनाएर प्रदेशलाई दिने ? पूर्वाधार नबनाएर त्यहाँ लगेको पैसा अमुख पार्टीका कार्यकर्ताहरुले खाएर भ्रष्टाचार गरेका छन् । त्यही भएर अहिले प्रधानमन्त्रीको ध्यानाकर्षण भएको हो । प्रधानमन्त्रीले भ्रष्टाचार रोक्न खोज्नुभएको हो । उहाँहरुको यो त अस्पतालको निहुँ मात्रै हो । तर, कुरा के हो भने चिकित्सा शिक्षा विधेयक आउन नदिने, डा केसी सिकिस्त हुनुहुन्छ भनेर यसलाई लम्ब्याएर जनताको सार्वभौम संस्थालाई निरीह बनाउने खेल भइरहेको छ ।

अब बस्ने माघ ११ गतेको संसद बैठकमा यो बिधेयक टुँगो लाग्छ त ?

विधेयक संसदमा गइसकेको छ । अब यसको प्रक्रिया पुर्याएर अगाडि बढ्छ । अर्को बैठक शुक्रबार बोलाइएको छ । त्यो बैठकमा हामी जुनसुकै हालतमा पास गर्छौँ । विभिन्न किसिमका छलफलहरु गरेर नै विधेयकलाई त्यहाँ ल्याइएको हो । त्यस कारण अब रोकिने कुरै आउँदैन । उहाँले राखेका चिकित्सा शिक्षाका मागहरु त पूरा भइसकेका छन् । उहाँले त उत्सव मनाउनु पर्ने हो ।  निर्मला, शान्ति प्रक्रियाका कुराहरु राखेर अनसन बसेपछि हामी किन रोकिने विधेयक पास गर्न ?

अनसन बसेरै माग पूरा गरौँला नसोचे हुन्छ । उहाँमात्र होइन, अर्का एक युवा पनि अनसनमा हुनुहुन्छ । त्यस कारण हामी त उहाँहरुलाई ज्यान जोगाउनुस् भन्छौँ । आइसीयूबाट कहिले बाहिर आउने, कहिले नेताहरुलाई गाली गर्ने, अनसन बसेको मान्छेको यस्तो शक्ति हुन्छ ? के ताकत छ उहाँसंग त्यस्तो ? बुझ्न सकिएको छैन ।

डा. केसीको अनसनमा पनि शंका छ ?

शंका किन गरिरहनु नि । देखिसकिएकै छ नि उहाँको वास्तविकता यसअघि देखि नै । यो पहिलो पटक हो र ?