रामचन्द्र पाण्डे, काठमाडौं – नेदरल्यान्ड्ससँग ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको झण्डै ६ महिनापछि नेपालले शुक्रबारदेखि युनाइटेड अरब इमिरेट्स (युएई)संग उसकै घरेलु मैदानमा दोस्रो एकदिवसीय सिरिज खेल्दैछ । तीन खेलको एक दिवसीय र समान तीनै खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैगर्दा नेपालका युवा खेलाडीमाथि सबैको ध्यान केन्द्रित हुनेछ ।


ADVERTISEMENT


युएईको दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को एकेडेमीमा नेपाली समय अनुसार शुक्रबार दिउँसो ११ः१५ बजेदेखि सिरिजको सुरुवात हुँदैछ । पहिलो पटक एकदिवसीय सिरिज जित्ने लक्ष्यका साथ युएई पुगेको नेपाली टिम युवा खेलाडीले भरिपूर्ण छ । १६ सदस्यीय टिममा १० जना युवा खेलाडी छन् । दोस्रो एक दिवसीय सिरिजमा नेपालका भरपर्दा युवा खेलाडीको प्रदर्शन कस्तो होला भन्ने कौतुहल खेलप्रेमीमा छ । पछिल्ला प्रतियोगितामा देखाएको प्रर्दशनका आधारमा पनि नेपाली युवा खेलाडीमा निकै विश्वास गरिएको छ ।


ADVERTISEMENT

# # #


यहाँ ती युवा खेलाडीको चर्चा गरिएको छ, जसले मौका पाएमा जुनसुकैबेला खेललाई नेपालतिर ढल्काउने क्षमता राख्छन् :

१. सन्दीप लामिछाने (बलर)

यदि कुनै नेपाली खेलाडी विश्व क्रिकेटमा चर्चाको शिखरमा छ भने त्यो नाम हो, सन्दीप लामिछाने । करिब १ वर्षमै विश्वस्तरीय खेलाडी र चर्चित लिगहरूमा खेलेको अनुभव बटुलेका सन्दीप युएईका ब्याट्समेनका लागि सबैभन्दा घातक सावित हुन सक्छन् ।

इण्डियन प्रिमियर लिग (आइपीएल) अष्ट्रेलियाको प्रतिष्ठित बिगबास लिग, क्यारेबियन लिग, बंगलादेश प्रिमियर लिग (बीपीएल) लगायत विश्वका ठूला लिगमा समेत सनसनी मच्चाइसकेका १८ वर्षीय सन्दीप नेपालका सफल लेग स्पिनर मानिन्छन् । ३ वटा एक दिवसीय खेल खेलेका सन्दीपले ८ विकेट लिएका छन् ।

गत अक्टोबरमा मलेसियामा भएको आइसीसी टी–२० विश्वकप छनोट एसिया ‘बी’ प्रतियोगितामा ६ खेलमा २४ वटा विकेट लिएका सन्दीपले सेप्टेम्बरमा एशिया कप छनोट प्रतियोगितामा युएई विरुद्ध नै १० ओभरमा २४ रन मात्र खर्चिएर ४ विकेट चट्काएका थिए । यो उनको एकदिवसीयमा सबैभन्दा राम्रो प्रदर्शन हो । यस्तै लिस्ट ए मान्यताका २४ खेलमा सन्दीपले ४७ विकेट झारिसकेका छन् ।

सन्दीपले यसअघिका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । त्यसकारण पनि युएईविरुद्ध उनीबाट राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ ।

२. दीपेन्द्रसिंह ऐरी (अलराउण्डर)

पछिल्लो समय नेपाली क्रिकेटका भावी कप्तानका रुपमा हेरिएका १८ वर्षीय युवा खेलाडी अहिले नेपाली ब्याटिङको खम्बा मानिन्छन् । सबै क्रिकेट प्रशंसकको रोजाईमा रहेका दीपेन्द्रसिंहसामू कप्तान पारस खड्का ओपिनिङमा आएमा मिडिल अर्डर धान्ने जिम्मेवारी रहेको छ ।

गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा पपुवा न्यूगिनीयिवरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै दीपेन्द्रले नेपाललाई पहिलो पटक एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उक्त खेलमा उनले सन्दीपसंग मिलेर पपूवा न्यूगिनीको ब्याटिङ ध्वस्त पार्ने क्रममा मात्र ४.२ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिएका थिए । यस्तै अर्को इनिङमा ५८ बलमा ५० रनको अविजित अर्धशतकीय पारी खेल्दै नेपाललाई ऐतिहासिक जित दिलाएका थिए ।

हालै नेपालमा भएका घरेलू प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) र एभरेस्ट प्रिमियर लिग (इपील)मा सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडीको सूचिमा पहिलो स्थानमा रहेकाले पनि युएईविरुद्ध उनी उच्च मनोबलका साथ मैदानमा उत्रिने छन् । एकदिवसीयमा उनी नेपालबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि हुन् । उनले ३ खेलमा ९२ रन बनाएका छन् । दीपेन्द्रले सिनियर टिमबाट लिष्ट ए को १८ खेल खेलेका छन्, जसमा उनले २ अर्धशतक बनाउँदै ४०३ रन बनाएका छन् ।

उनको उच्च स्कोर ६२ रन रहेको छ । युएईविरुद्ध कुल ४ खेल खेलेका दीपेन्द्रले कुल १२० रन बनाएका छन् । गत वर्ष अगस्टमा सम्पन्न एसिया कप छनौट प्रतियोगितामा नेपाल युएईसंग पराजित हुँदा ४० रन बनाएका थिए ।  बलिङमा पनि उत्तिकै सशक्त प्रदर्शन गर्ने दीपेन्द्र नेपालको उत्कृष्ट फिल्डरमा पर्छन् ।

३. आरिफ शेख (अलराउण्डर)

आरिफ शेख नेपालका भरर्दा खेलाडी हुन् । अलराउण्डर आरिफ नेपाललाई जिताउन नायक बन्न सक्ने खुवी भएका खेलाडी हुन् । ब्याटिङको साथै बलिङ पनि आरिफको उत्तिकै राम्रो रहेको छ । मध्यम गतीको बलिङ गर्ने आरिफले नेपालका तर्फबाट भने बलिङ गर्न पाएका छैनन् ।

२१ वर्षीय आरिफले नेपाली सिनियर टिमबाट २० वटा लिष्ट ए को खेल खेलेका छन् । उनले १ अर्धशतक बनाएका छन् । गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बावेविरुद्ध अर्धशतक प्रहार गरेर आफ्नो ब्याटको शक्ति देखाइसकेका छन् । आरिफले २० खेलमा उनले २६७ रन बनाएका छन् ।

घरेलू प्रतियोगितामा पनि राम्रै प्रदर्शन गरेका आरिफले युएईविरुद्ध पनि राम्रो खेल्ने अपेक्षा गरिएको छ ।

४. रोहित कुमार पौडेल (ब्याट्सम्यान)

मात्र १६ वर्षीय रोहित कुमार पौडेल छोटो समयमा नै चर्चामा आएका खेलाडी हुन् । सन् २०१७ को एभरेस्ट प्रिमियर लिगमा सनसनीपूर्ण ब्याटिङ गरेपछि उनले गत वर्ष नामिबियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगितादेखि मात्रै सिनियर टिममा डेब्यु गरेका थिए ।

रोहित छोटो समयमा उत्कृष्ट प्रदर्शन गर्दै टिममा पर्दै आएका छन् । गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा हङकङविरुद्धको खेल जिताएर नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना कायम मात्रै राखेनन्, उनले अफगानिस्तानलाई विश्वकपसम्मै पुर्याइदिए ।

उक्त खेल हङकङले जितेको खण्डमा नेपाल र अफगानिस्तान दुबै टिमका सपना तुहिन्थ्यो । तर नेपाललाई खेल जिताए पछि नेपालसंग समान अंक भएको अफगानिस्तान विश्वकप छनोटको अघिल्लो चरणमा प्रवेश गरेको थियो । यही खेलबाट प्रभावित भएर अफगानिस्तानका कप्तान अस्गर स्टानिक्जाईले रोहितलाई नेपाली कक्षमै आएर ब्याट उपहार दिएका थिए ।

रोहितले टिमलाई चाहिएको बेला पटकपटक इनिङ उकासेका छन् । सिनियर टिमबाट उनले २ एक दिवसीय खेलमा १५ रनमात्रै बनाएपनि ‘लिस्ट ए’ मान्यताप्राप्त खेलमा १४ खेल खेल्दै २५२ रन बनाएका छन् भने उनको उच्च स्कोर ४८ रन रहेको छ । युएईविरुद्ध उनी एक शसक्त हतियार बन्नसक्छन् ।

५. ललितनारायण राजवंशी (बलर)

ललितनारायण राजवंशी नेपालका भरपर्दा युवा खेलाडी हुन् । गत वर्षको मार्चमा जिम्बाब्वेमा सम्पन्न आईसीसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आयोजक राष्ट्र जिम्बाब्वे विरुद्ध डेब्यू गरेका राजवंशी त्यसयता लगातार सिनियर टिममा छन् ।

‘स्लो लेफ्ट आर्म अर्थोडक्स’ बलिङ गर्ने ललितले सिनियर टिमबाट ६ लिस्ट ए खेलमा ५ विकेट लिइसकेका छन् । एक दिवसीय खेलमा डेब्यूको प्रतिक्षामा रहका ललितलाई सन्दीपको छायाँमा परेका बलर भन्ने गरिन्छ । उनले मौका पाएको बेला राम्रै प्रदर्शन गर्दै आएका छन् । युएई विरुद्धको सिरिजमा उनको खेल हेर्नलायक हुनेछ ।

६. भीम सार्की (ब्याट्सम्यान)

उमेर समूह र घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गरेर पहिलो पटक राष्ट्रिय टिममा प्रवेश गरेका भीमलाई निकै सम्भावना बोकेका युवा खेलाडी मानिएको छ । दायाँहाते ब्याट्म्यान भीम फिल्डिङमा पनि निकै चुस्त मानिन्छन् । फिल्डिङ राम्रो भएकैले दक्षिण अफ्रिकाका उत्कृष्ट फिलडर जोन्टी रोड्ससंग उनको तुलना गर्ने गरिन्छ ।

उनले मौका पाएमा आफूलाई प्रमाणित गर्न सक्छन् । पछिल्लो समय सुनसरीमा भएको मनमोहन स्मृती एकदिवसीय कपमा भीम उत्कृष्ट ब्याट्सम्यान चुनिएका थिए । आक्रामक भएपनि सम्हालिएर खेल्न सक्ने खुबी भएका भीम नेपालको सुन्दर भविष्य हुन् ।

यस्तै अन्य युवा खेलाडीमा १८ वर्षीय पवन सर्राफले, सन्दीप जोरा र अभिनाष बोहोराले पनि सम्भावना देखाएका छन् ।