नेपाल–भारत सम्बन्ध अहिले ईतिहाँसकै राम्रो मध्येको एक हो : मन्त्री महासेठ


ADVERTISEMENT


भारतको लगानी बढाऔँ, निर्यात पनि भारतमा नै गरौँ : पूर्वअर्थमन्त्री डा. महत


ADVERTISEMENT

# # #


नेपाल–भारत मिलेर जानसक्ने सम्भावना र मौका मिलेको छ, यसको सदुपयोग गर्नुपर्छ : डा.लोहनी

ईपिजीको प्रतिवेदन मधेशले सिधै अस्विकार गर्छ : अनिल झा

इपिजी प्रतिवेदन कसरी अगाडि बढाइन्छ भन्ने प्रतिक्षामा छौं : डा. थापा

काठमाडौं, ११ माघ ।नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरीले नेपाल–भारतबीचमा रहेको जनस्तरको सम्बन्ध विश्वको अरु कुनैपनि दुई देशबीच नभएको स्पष्ट पारेका छन् । उनले भने,‘भारत र नेपालबीचको सम्बन्ध बुवा, हजुरबुवादेखि लिएर भगवानसम्मको हो । द्धिपक्षीय सम्बन्ध प्राचिन सम्बन्ध हो ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदुत पुरीले भने,‘भारत र नेपालबीच रहेको सम्बन्ध विश्वमै अरु कुनैपनि दुई देशबीच यस्तो सम्बन्ध छैन, जुन हामीबीच प्रगाढ छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै राजदुत पुरीले दुई देशबीच जनस्तरमै अत्यन्तै सुमधुर सम्बन्ध रहेकोले आगामी दिनमा यसलाई अझै सुदृढ गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘हामीबीच रोटी–बेटीको सम्बन्ध छ । यहाँहरुमध्ये सायद कोही पनि यस्तो व्यक्ति हुनुहुन्न होला, जसले बलिउडको फिल्म नहेर्नुभएको होला । मेरो विचारमा सबैले हेर्नुभएको छ । अहिले त हामीबीच क्रिकेटले पनि सम्बन्ध सुमधुर बनाएको छ । नेपालका उदाउँदा युवा क्रिकेटर सन्दिप लामिछाने भारतको आईपिएलमा जमेका छन् ।’

त्यस्तै उनले भारतका विभिन्न च्यानलहरुबाट प्रशारण भैरहेका सिरियल पनि नेपालमा सबैले हेरिरहेको सुनाउँदै यसलेपनि नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध प्रगाढ रहेको देखाउने विश्वास दिलाए ।

दुई देशबीचको सम्बन्ध थप सुमधुर र प्रगाढ बनाउनको लागि अर्थ व्यवस्था पनि सुदृढ बनाउनुपर्नेमा उनको जोड थियो । उनले वीरगन्ज–रक्सौलमा हालै सञ्चालनमा आएको ‘ईन्ट्रिगे्रटेड चेक पोष्ट’ ले वस्तु तथा सामाग्री आदान–प्रदानमा ठूलो सहयोग पुगेको विश्वास दिलाए । आगामी दिनमा यस्तै चेक पोष्ट नेपालगञ्ज, भैरहवा, विराटनगर र काँकडभिट्टामा पनि सञ्चालनमा ल्याउने राजदुत पुरीले विश्वास दिलाए ।

त्यस्तै उनले पछिल्लो समय भारत–नेपाल बस सेवा पनि अत्यन्तै प्रभावकारी रुपमा सञ्चालनमा आएको सुनाए । काठमाडौं–दिल्लीमात्रै नभएर अहिले काठमाडौं–बोद्यगया, जनकपुर–अयोध्या, जनकपुर–पट्ना, नेपालगञ्ज–लखनउलगायतमा सिधा बस सेवा सञ्चालनमा रहेको सुनाउँदै अहिले आउने–जाने दुवै बस भरिभराउ हुने गरेको पनि उनले सुनाए । पुरीले भने,‘अहिले त बसको टिकट पनि अग्रिम बुकिङ गर्नुपर्ने अवस्था छ ।’

नेपाल–भारत द्धिपक्षीय सम्बन्धको केन्द्रविन्दु नै जनता–जनताबीचको सम्बन्ध रहेकोले आफूहरुले यसप्रति निकै महत्व दिँदै आएको पनि उनले सुनाए । राजदुत पुरीले आगामी फेब्रुअरीको अन्तिमबाट सुरु भएर मार्चभरि नेपालको काठमाडौं र अन्य शहरहरुमा ठूलो सांस्कृतिक महोत्सव आयोजना लागिएको पनि जानकारी गराए ।

उनले भने,‘उक्त कार्यक्रमको विस्तृत जानकारी हामी छिट्टै तपाईहरुलाई गराउँछौं । कार्यक्रममा भारतका प्रसिद्ध कलाकारहरुको उपस्थिति रहनेछ । भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा यो कार्यक्रमकको बारेमा तपाईहरुलाई जानकारी गराउन पाएकोमा म खुशी छु ।’ उक्त सांस्कृतिक कार्यक्रममा भारतको प्रसिद्ध कल्चरल डान्स कथकल्ली, मृधंगम् र मैथली हुने पनि उनले जनाए । उक्त कार्यक्रममा सहभागी हुन नेपालीहरु उत्सुक रहेको आफूले विश्वास लिएको पनि राजदुत पुरीले विश्वास लिए ।

यो वर्ष आफूहरुले महात्मा गान्धीको १५० औं जन्मजयन्ती भव्य रुपमा मनाईरहेको सुनाउँदै नेपालमा पनि भव्य कार्यक्रमहरु आयोजना भैरहेकोमा उनले धन्यवाद ज्ञापन गरेका थिए ।

फरक प्रसँगमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कहिले बुझ्नुहुन्छ भनेर सोधेको प्रश्नमा उनले आफू यसको सदस्य नभएकोले यसबारेमा कुनै प्रतिक्रिया नदिने स्पष्ट पारे । उनले भने,‘म ईपिजीमा आवद्ध छैन । यो आँफैमाअटोनमसबडी हो । नेपालबाट डा. भेषबहादुर थापाले ईपिजीको नेतृत्व गर्नुभएको छ । म यसको जवाफ दिन सक्दिन् ।’

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध ईतिहासकै राम्रो मध्येको कालखण्ड अहिले रहेको दाबी गरेका छन् । उनले भने,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो कार्यकालको यो कालखण्डको सम्बन्ध ईतिहाँसकै राम्रो मध्येको एउटा हो ।’

नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर रहेको सुनाउँदै आगामी दिनमा पनि यसलाई अझै सुदृढ बनाउनुपर्नेमा उनको जोड थियो । उनले भने,‘हामीबीच ऐतिहाँसिक सम्बन्ध छ । हामीबीच सामाजिक–सांस्कृतिक, धार्मिक सम्बन्ध प्रगाढ छ । यो सम्बन्ध न कहिले फुट्छ, न कहिले टुट्छ।’

उनले नेपाल र भारतबीच कृषि, उर्जा, भौतिक पूर्वाधार र अन्य विकास निर्माणका काममा राम्रो सहकार्य रहेको सुनाउँदै सबै क्षेत्रमा दुवै सरकारले सोचेअनुसार काम भैरहेको पनि विश्वास दिलाए ।

उनले भारत सरकारको अनुदानमा नेपालको ‘क्रस–बोर्डर’ लाईन निर्माण भैरहेको पनि सुनाए । उनले भने,‘जलपाईगुडीदेखि काँकडभिट्टासम्म, जोगबनीदेखि विराटनगरसम्म, नुतन्बादेखि भैरहवासम्म, नेपालगञ्जदेखि नेपालगञ्ज रोडसम्म निर्माण भैरहेको छ । नेपालको यातायात सञ्जालमा भारतको राम्रै सहयोग छ।’

मन्त्री महासेठले ७० औं गणतन्त्र दिवसको अवसरमा भारतलाई अहिले सोचभन्दा राम्रो समृद्धि मिलोस भन्दै शुभकामना समेत दिएका थिए ।

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाल–भारत सम्बन्ध बहुआयामिक भएको बताएका छन् ।डा. महतले नेपाल र भारतबीचको युगौँ युगदेखिको सम्बन्ध प्रगाढ रहेको बताएका हुन् ।

डा. महतले भारतले नेपाल लगायत विश्वका धेरै देशलाई अनुकरणीय काम गरेर मार्गदर्शन गरेको पनि बताए । “भारतको संविधानमा प्रजातन्त्रका सबै अङ्ग समावेश छन् । जुन अरु देशले पनि अनुकरण गर्न सक्छन् ।”–महतले भने ।

नेपाल–भारतबीचको सम्बन्ध ऐतिहासिक भएको जिकिर गर्दै डा.महतले भारतको स्वतन्त्रता संग्राममा नेपालको सहयोग र नेपालमा राणा शासन अन्त्य गर्नका लागि भारतको भूमिका महत्वपूर्ण रहेको स्मरण गराए ।

“भारतको स्वतन्त्रता संग्राममा नेपालबाट विपी कोइरालाले सहयोग गर्नुभयो । सहभागीपनि हुनुभयो । भारत स्वतन्त्र भएपछि नेपालबाट पनि राणा शासनको अन्त्य गर्नुपर्छ भन्ने आवाज उठ्यो ।”–महतले भने ।

नेपाल आर्थिक विकासको युगमा प्रवेश गरेको उल्लेख गर्दै महतले भारतको सहयोग अपरिहार्य रहेको बताए । नेपाल आफैँ पनि आन्तरिक रुपमा बलियो हुनुपर्ने बताउँदै उनले भारतको आर्थिक सहयोग नेपालका लागि महत्वपूर्ण हुने बताए ।

“भारत विश्वकै आर्थिक शक्तिराष्ट्रको रुपमा उदाउँदैछ । यस्तो अवस्थामा नेपालले भारतको राम्रो सहयोग पाउन सक्छ । तर नेपाल आफैँ पनि आन्तरिक रुपमा मजवुत बन्नुपर्छ । लगानीको वातावरण पनि बनाउन सक्नुपर्छ ।”महतको भनाई थियो ।

नेपालमा वैदेशिक लगानी वृद्धिको मुख्य स्रोत नै भारत भएको महतको तर्क छ । नेपालमा भारतको लगानी बढाउने र नेपालबाट भारतमा नै विभिन्न वस्तु निर्यात गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने महतले बताए ।

नेपालबाट भारत निर्यात हुने वस्तुका लागि भारतीय बजार खुला र सहज बनाउनुपर्नेमा पनि महतले जोड दिए ।

भारतको सहयोगमा बन्न लागेका अरुण तेस्रो र माथिल्लो कर्णाली आयोजनाको विषयमा गम्भीर बन्न महतले भारतलाई सुझाब दिएका छन् । अरुण तेस्रोमा समस्या नभए पनि माथिल्लो कर्णालीमा केही अन्योल देखिएको भन्दै महतले ध्यानाकर्षण गराए ।

नेपाल–भारत प्रवृद्ध व्यक्ति समुहले तयार पारेको प्रतिवेदनलाई नेपाल र भारत सरकारले बेवास्ता गरेको हो कि भनेर महतले आशंका व्यक्त गरेका थिए । डा.महतले ईपिजी प्रतिवेदनलाई दुवै सरकारले महत्व दिनुपर्नेमा जोड दिए ।

भारतले शनिबार गणतन्त्र दिवस मनाउँदैछ । दिवसको पूर्वसन्ध्यामा गरिएको कार्यक्रममा महतले भारतलाई अझै सफलताको शुभकामना दिएका छन् । साथै नेपाल र भारतबीचको सम्बन्ध पनि अझै प्रगाढ हुनेमा महतले विश्वास व्यक्त गरे ।

एकीृकत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारत विश्वमै उदयीमान अर्थतन्त्रको रुपमा उदाएको बताउँदै आगामी २५ देखि ३० वर्षभित्र संसारकै ठूलो अर्थतन्त्र बन्ने बताए । उनले भने,‘२१ औं शताब्दी एशियाको हो भनिएको छ, आगामी २५ देखि ३० वर्षभित्र भारत यसको प्रमुख अंग बन्छ।’

उनले नेपाल–भारतबीच ऐतिहाँसिक सम्बन्ध रहेको सुनाउँदै आगामी दिनमा द्धिपक्षीय सम्बन्धलाई आर्थिक रुपमा प्रगाढ बनाएर लैजानुपर्नेमा जोड दिए । उनले भने,‘दुवै देशले एक–अर्काको समस्यालाई संवेदनशील भएर अघि बढ्नुपर्छ ।’

अहिले दुई देश मिलेर जानसक्ने सम्भावना र मौका मिलेको पनि सुनाए । उनले भने,‘सांस्कृतिक, आर्थिक, सुरक्षा र राजनीतिक सम्बन्ध यी पाटाबाट सम्बन्ध मजबुद बनाउनुपर्छ । हामीबीच राजनीतिक रुपमा कुनै समस्या छैन् । यसलाई निरन्तरता दिनुपर्छ ।’

नेपालको परनिर्भरता धेरै भएकोले व्यापार घाटा धेरै रहेको पनि उनले स्पष्ट पारे । उनले भने,‘भारतसँग रहेको नेपालको व्यापार घाटा घटाउनको लागि भारतले पनि सहयोग गर्नुपर्छ ।’

उनले पछिल्लो समय नेपाल–भारत उर्जा सचिवबीच वार्ता भएको र ईनर्जी ब्यांकिङको अवधारणा आएको सुनाउँदै यो राम्रो पक्ष भएको पनि प्रतिक्रिया दिए । उनले भने,‘यो सकारात्मक कुरा हो । यसलाई तार्किक निश्कर्षमा पुर्याउनुपर्छ ।’

भारतीयहरु खासगरेर भारतीय राजनीतिज्ञहरु नेपालको कुराहरु तत्काल रेस्पोण्ड गर्न तयार रहेको आफूले पाएको सुनाउँदै लोहनीले आर्थिक रुपमा एक–अर्काले मद्दत गर्नुपर्ने पनि बताए ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशले ईपिजीको प्रतिवेदनलाई सिधै खारेज वा ईन्कार गर्ने चेतावनी दिए ।

उनले भने,‘ईपिजीमा एकजना पनि बोर्डरमा बस्ने मधेशी समूदायको मान्छे सहभागी थिएनन् । बोर्डरमा के समस्या छ ? हाम्रो रोजीबेटीको सम्बन्ध भनेपछि त्यो कुन प्रकारले अघि बढ्ने हो र कुन प्रकारले बढिरहेको थियो ? र कुन प्रकारले बढ्नुपर्छ भनेर निर्णय गर्दा हाम्रो कुनै पनि सहभागिता नभएकोले त्यो प्रतिवेदन हामी कुनैपनि हालतमा स्विकार्दैनौं ।’

झाले नेपाल सरकारले यदि त्यसलाई यथास्थितिमा अघि बढाए आफूहरुले त्यसको विरोध गर्ने चेतावनी दिए । उनले भने,‘त्यसैले त्यसको रिभ्यु हुनुपर्छ । त्यसमा मधेशी समुदायको स्टेक हुनुपर्छ ।’

उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सदियौंदेखि अत्यन्तै प्रगाढ रहेको सुनाउँदै आगामी दिनमा पनि सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘नेपाल–भारत सम्बन्ध हामीले बनाएको होईन, यो त युगौं अघिदेखि निर्मित हो । हामीबीचको सम्बन्ध अतुलनीय छ ।’

उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा आँच आउने काम कसैले पनि गर्न नहुने धारणा व्यक्त गरे । उनले थपे,‘हामीबीच नदी साझा, चराचुङी साझा, भगवान साझा, सैतान साझा सबै साझा छन् । हामीबीचको सम्बन्धमा जे कुरामा पनि साझा लगाउँदा पुग्छ ।’

उनले आतंकवाद र अपराधको समस्या पनि साझा भएकोले यो समस्यालाई साझा रुपमा हल गर्नुपर्ने बताए । भारतको ७० औं गणतन्त्र दिवसको अवसरमा भारतलाई पूर्ण सफलता मिलोस भन्दै शुभकामना पनि दिए ।

डा. थापाको प्रश्न : ईपीजी प्रतिवेदन कहिले कार्यान्वन हुन्छ ?

पूर्व परराष्ट्रमन्त्री, भारतका लागि नेपालका पूर्व राजदूत एवम् नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) का नेपाल तर्फका संयोजक डा. भेषबहादुर थापाले नेपाल–भारत प्रवुद्ध समुहले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न दुवै देशलाई ध्यानाकर्षण गराएका छन् ।

डा. थापाले नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ र अर्थपूर्ण बनाउनका लागि इपीजी प्रतिवेदन महत्वपूर्ण हुने दावी पनि गरे । थापाले आफूहरु इपिजी प्रतिवेदन कसरी अगाडि बढाइन्छ भन्ने प्रतिक्षामा रहेको बताए ।

नेपाल र भारतबाट प्रवुद्ध समुहमा आवद्ध सबैबीच समझदारी भएर प्रतिवेदन तयार पारिएको दावी गर्दै संयोजक थापाले उक्त प्रतिवेदनलाई महत्व दिन आग्रह पनि गरे ।

प्रतिवेदनमा विगतमा नेपाल र भारतबीच भएका सन्धी÷सम्झौता पुनरावलोकन गर्ने सहमति उल्लेख गरिएको थापाले जानकारी दिए । साथै दुई देशबीचको सम्बन्ध आगामी दिनमा थप मजबुत बनाउनका लागि प्रतिवेदन महत्वपूर्ण हुने थापाले बताए ।

‘धेरै मिहिनेत गरेर इपिजी प्रतिवेदन तयार गरिएको हो । यसमा दुवै देश संयुक्त रुपमा जिम्मेवार बन्नुपर्छ । सर्वसम्मतिले बनेको प्रतिवेदनको महत्व धेरै छ ।’– डा. थापाले भने ।

प्रवुद्ध समुहले काम गरेको २ वर्षको अवधिमा नेपाल–भारतबीचको सम्बन्ध थप सुमधुर भएको दावी गर्दै थापाले भने–‘प्रवुद्ध समुहले काम गर्ने बेलामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने र नेपालका प्रधानमन्त्री भारत जाने क्रम बढेको थियो ।’

थापाले प्रतिवेदन कार्यान्वयनको पाटोमा जानेमा आफूहरु विश्वस्त भएर प्रतिक्षा गरिरहेकोसमेत सुनाए । “प्रतिवेदन के कसरी कार्यान्वयन हुन्छ भन्नेमा प्रतिक्षा गरिरहेका छौँ । पर्खाईको चाँडै अन्त्य हुने विश्वास लिएको छु ।”–थापाले भने ।

“प्रवुद्ध समुहका भारततर्फका संयोगक भगतसिंह कोशियारी र म लगायत सबै साथीहरुले प्रतिवेदनमा धेरै मिहिनेत गरेका छौँ । २ देशबीचको समस्या समाधान गर्दै सम्बन्धलाई थप मजबुत बनाउनका लागि प्रतिवेदन महत्वपूर्ण हुनेछ ।” –थापाले दावी गर्दै भने ।

नेपाल भारतबीचको सम्बन्ध अरु देशसँग दाँज्न नै नमिल्ने भन्दै डा. थापाले २ देशबीचको कुटनीतिक सम्बन्ध निकट रहेको पनि बताए ।

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले नेपाल–भारत सम्बन्ध अत्यन्तै प्रगाढ रहेकोले आगामी दिनमा यसलाई अझै सुदृढ गरेर जानुपर्ने धारणा राखेका छन् । उनले भने,‘नेपाल र भारतजस्तो सम्बन्ध विश्वको कुनैपनि दुई देशबीच छैन । यो कुरालाई आत्मसात् गर्दै द्धिपक्षीय सम्बन्ध अघि बढाउनुपर्छ ।’

आगामी दिनमा द्धिपक्षीय सम्बन्धलाई आर्थिक रुपमा बढि चलायमान बनाउनुपर्ने धमलाको भनाई थियो । उनले भारतको ७० औं गणतन्त्र दिवसमा शुभकामना दिँदै आगामी दिनमा भारतले लिएको आर्थिक समृद्धिको लक्ष्य चाँडै हाँसिल गरोस भन्ने धारणा पनि राखे ।