म्याग्दी – भारी हिमपातका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ ।


ADVERTISEMENT


थासाङ गाउँपालिकामा पर्ने घाँसाबामट माथिल्लो क्षेत्रमा बाक्लो हिउँ परेकाले सडक अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।


ADVERTISEMENT

# # #


बेनी, पोखरा, काठमाडौँलगायतका स्थानबाट जोमसोमका लागि छुटेका सवारी साधन शनिबार बिहानैदेखि घाँसामा रोकिएका सहायक प्रजिअ विश्वेश्वर रेग्मीले बताए । सहायक प्रजिअ रेग्मीका अनुसार मुस्ताङमा दुई फिटसम्म बाक्लो हिउँ जमेको छ ।

मुस्ताङका सबै सडक अवरुद्ध भएका छन् । हिउँ पग्लिन एक–दुई दिन लाग्ने जनाइएको छ । प्रतिकूल मौसम र धावनमार्गमा हिउँ जमेकाले पोखरा–जोमसोम हवाई उडान पनि भएको छैन । मुस्ताङ सडकका साथै विद्युत् सुविधाबाट पनि विच्छेद भएको छ । घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका बाहेकका क्षेत्रमा सञ्चार सेवा अवरुद्ध बनेको छ ।

यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पैदलमार्ग र विद्युत् सेवा अवरुद्ध बनेको छ । गाउँपालिकाको सबै सडक, पैदलमार्ग हिउँका कारण आवतजावत बन्द भएको अध्यक्ष थमसरा पुनले बताए ।

म्याग्दीका विभिन्न ठाउँमा हिउँ र हावाहुरीले पोल ढलाएको, तार चुँडाएकाले शुक्रबार रातिदेखि केन्द्रीय प्रशारण लाइनको विद्युत् अवरुद्ध भएको छ । बरञ्जा, भकिम्ली, राम्चे र फलामेडाँडा क्षेत्रमा विद्युत्का पोल ढलेको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताए ।

बरिब पाँच महिनापछि वर्षा भएको हो । मुस्ताङमा यस वर्ष चौथोपटक हिउँ परेको हो । बेनपा–१० बाखेतका लालबहादुर पुनले म्याग्दीमा १२ वर्षयताकै ठूलो हिमपात भएको बताए । वर्षा र हिमपातले सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने भएकाले कृषकमा खुशीयाली छाएको छ ।

म्याग्दीको घोडेपानी, टोड्के, डोले, रुइसे, ताकमलगायतका पर्यटकीय स्थलमा हिउँ खेल्न विभिन्न ठाउँबाट पर्यटक पुगेका छन् । बेनी–जोमसोम, पोखरेबगर–घोडेपानी, बेनी–दर्वाङलगायत म्याग्दी र मुस्ताङमा सञ्चालित विकास निर्माणका काम पनि हिमपातका कारण ठप्प बनेको छ ।