काठमाडौं । विराटनगर उच्च अदालतले सुन तस्करी र सनम शाक्य हत्या मुद्दा अब एकै इजलासमा हेर्ने भएको छ।


ADVERTISEMENT


छुट्टाछुट्टै हेरिँदा विवाद बढेपछि यो मुद्दाको पेसी २५ पटकसम्म सरिसकेको छ । उच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले अब एकै इजलासले निरन्तर हेर्ने र आदेश पनि एकसाथ गर्ने तयारी भएको बताए।


ADVERTISEMENT

# # #


उनका अनुसार कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र हरिप्रसाद बगालेको इजलासले सुन मुद्दालाई नफुटाउने गरी एउटै इजलासमा राख्न आदेश दिएको छ।

कामु मुख्य न्यायाधीश अधिकारी हेटौंडा उच्च अदालतबाट विराटनगर सरुवा भएका हुन्। न्यायपरिषद्ले काज सरुवा गरेका न्यायाधीशहरू उमेशकुमार सिंह, सारंगा सुवेदी, उमेशराज पौडेल, नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको स्थानमा लेखनाथ सिंह, रामप्रसाद अधिकारी, शेखरप्रसाद पौडेल र महेश शर्मा पौडेललाई खटाइएको छ।

यो मुद्दाका आरोपितमाथिको निवेदन व्यवस्थापन र सुनुवाइका क्रममा विवादमा परेका तत्कालीन मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ६ न्यायाधीश न्यायपरिषद् सचिवालयमा तानिएका थिए।

स्रोतका अनुसार मुद्दा एकमुष्ट नहेरी फरक–फरक इजलासमा बाँडिएको अनि कतिपय निवेदन व्यवस्थापनका क्रममा प्रमाण परीक्षणका आधारभूत सिद्धान्तसमेत उल्लंघन गरिएको भेटिएको छ। बेग्लाबेग्लै इजलासमा पेसी तोकिँदा न्यायाधीशअनुसार आदेश आएको र थुनामै राखेर मुद्दाको सुनुवाइ हुनुपर्ने कतिपय आरोपितलाई छाडिए पनि त्यसमा पर्याप्त आधार र कारण देखिँदैन।

फरक–फरक इजलासमा राखेपछि त्यति बेलै न्यायाधीश र कानुन व्यवसायीबीच मतभेद बढेको थियो। कानुन व्यवसायीले केही समय अघोषित रूपमा ‘इजलास बहिष्कार’ समेत गरेका थिए। उनीहरूले बार एसोसिएसनमार्फत २२ बुँदे सुझावसहित मुख्य न्यायाधीशको ध्यानाकर्षण गराएका थिए। असन्तुष्टि बढेपछि मुद्दा कसरी अघि बढाउने भन्ने विषयमा सरकारी वकिलले पेसी सारेर बेग्लै छलफलसमेत गरेका थिए।