काठमाडौं– नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै उनले आफूहरु निर्वाचनबाट कुनैपनि हालतमा नभाग्ने जिकिर गरे । उनले भने,‘तर, सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ । त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस् ।’


ADVERTISEMENT

# # #


उनले स्ववियु विद्यार्थीको साझा मञ्च भएकोले नेविसंघलाई निर्वाचन जित्ने वा हार्ने कुराले कुनै फरक नपार्ने पनि दाबी गरे । आफ्नो संगठनले एक महिना अघि नै स्ववियु निर्वाचन फागुन १४ गते गर्नेबारे विश्वविद्यालयलाई पत्राचार गरेर सहमति जनाईसकेको पनि महरले जनाए ।

स्ववियु निर्वाचनमा नेविसंघलाई हराउने दुनियाँको कुनै तागद नभएको पनि उनले उद्धघोष गरे । उनले भने, ‘हामी प्रजातान्त्रिक संगठन भएको कारणले प्रजातन्त्र भनेको नै निर्वाचन हो । त्यसकारण निर्वाचनबाट नेविसंघ भाग्दैन् । हामी भाग्छौं भनेर कसैले कल्पना गरेको छ भने त्यो मिथ्यामात्रै हो ।’

अध्यक्ष महरले स्ववियु निर्वाचनबारे आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग करिब एक घण्टा छलफल गरेको सुनाउँदै नेविसंघ जुनसुकै बेला चुनावमा जान तयार रहेको कुरा स्पष्टसँग राखेको जनाए । निर्वाचनको लागि प्रधानमन्त्रीले शान्ति, सुरक्षाको वातावरण बनाउनुपर्ने उनको भनाई छ । उनले वर्तमान सरकार फागुण १४ गते स्ववियुको निर्वाचन हुन नदिने गतिविधिमा लागेको पनि आरोप लगाए ।

यता अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले देशैभरिबाट पराजय भोग्ने भयले नेविसंघले चुनाव नचाहेको गम्भिर आरोप लगाए । उनले स्ववियुको निर्वाचन हुन नसक्दा स्ववियुको चरित्रमाथि नै आघात पुगेको बताए ।

उनले स्ववियुको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने पनि जोड दिए । उनले भने,‘निर्धारित मितिमै स्ववियुको निर्वाचन जरुरी छ भन्ने हामी ठान्दछौं । त्यहीअनुरुप विश्वविद्यालयले पनि यही फागुण १४ गते स्ववियुको निर्वाचन गर्नेगरि तयारी गरेको छ ।’

नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्नको लागि बहानीबाजी गरिरहको पनि उनको गम्भिर आरोप लगाए । देशभरिबाट पराजय व्यहोर्नुपर्ने हो कि भन्ने भयबाट नेविसंघले कहीँ न कहीँ काम गरेको आफूहरुले पाएको पनि उनले आरोप लगाए । उनले भने,‘त्यसैले नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्न बहानाबाजी गरेको देखिन्छ । तर, म पूर्णरुपमा भन्न चाहन्छु की नेविसंघजस्तो संगठन आफ्नो जिम्मेवारीबाट हट्छ भने यो शोभनीय हुँदैन् ।’

निर्धारित मितिमै निर्वाचन हुनुपर्ने उनको भनाई थियो ।