काठमाडौं – युनाइटेड अरब इमिरेट्स संगको टी २० अन्तर्राष्ट्रिय सिरिज अन्तगर्त पहिलो खेलमा नेपालले १५४ रनको चुनौति पाएको छ ।


ADVERTISEMENT


दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनायो । उसका लागि सैमन अनवारले आक्रामक पारी खेले । पाँचौँ विकेटका रुपमा अभिनाश बोहराको बलमा बोल्ड हुनुअघि उनले ३८ बलमा ५९ रनको महत्वपूर्ण पारी खेले । उनले ३६ बलमा अर्धशतक पूरा गरे । उनले ५ चौका र २ छक्का ठोके ।


ADVERTISEMENT

# # #


यस्तै मोहम्मद उस्मान ३० र सीपी रिजवान २२ रन बनाएर आउट हुँदा मोहम्मद बूटा १५ बलमा एक चौका र एक छक्काको मदतमा २० रन बनाएर अविजित भए ।

यता नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मलिे समान २/२ विकेट लिए भने सोमपालकामी र आजै डेब्यू गरेका अभिनाश बोहराले समान १/१ विकेट हात पारे । सन्दीपले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भए ।

सन्दीपको बलमा युएईका अष्फाक अहमद दुई रनमा आउट भए । २ विकेट लिँदा ४ ओभरमा सन्दीपले २५ रन खर्चिए । करण केसी महंगो साबित भए । चार ओभरमा ४३ रन खर्चिँदा उनले कुनै पनि विकेट लिन सकेनन् भने वसन्त रेग्मीले ४ ओभरमा २३ रन खर्चिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।