काठमाडौँ– ट्राफिक प्रहरीले निर्बाह गर्नुपर्ने दायित्व धेरै छ तर पर्याप्त जनशक्तिको अभावमा सबै दायित्व पूरा गर्न कठिन भएको छ ।


ADVERTISEMENT


निर्धारित भन्दा बढी भाडा लिएको, दर्ता नगरी सवारी साधन चलाएको, विदेशमा दर्ता भएका सवारी साधन अनुमति नलिइ चलाएको, बाटो इजाजत नलिएको, ट्राफिक सङ्केत इसारा उलङ्घन गरेकोे, निषेधित स्थानमा पार्किङ गरेको वा हर्न बजाएकामा कारबाही गर्न ट्राफिकलाई अधिकार दिइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै एकतर्फी सडकमा दोहोरो सवारी साधन चलाएको, राति बत्ती नबालेकोे, नम्बर प्लेट नराखेको, पेटी नबाँधेको हेल्मेट नलगाएको , लापरबाहीसाथ वा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाएको, तोकिएको भन्दा धेरै मालसामान राखेको, छतमा यात्रु बोकेको, सार्वजनिक सवारी साधनमा धूमपान गरेको, गति निर्धारण गरिएको ठाउँमा तीव्रगतिमा चलाएको सवारी चालकलाई समेत कारबाही गर्नेजस्ता अधिकार छ ।

यसका अलावा देशको उच्च तहका व्यक्तिको स्वदेश तथा विदेश भ्रमणको समयमा सवारी आगमनलाई प्रभावकारी बनाउने जिम्मा समेत ट्राफिकको छ । काठमाडौँ उपत्यकाको जनसङ्ख्या वृद्धिसङ्गै सवारी साधनको सङ्ख्या पनि अत्यधिक छ । हाल नेपालभर २१ लाख र काठमाडौँमा मात्र १० लाखभन्दा बढी सवारी साधन रहेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई बताउँछन् ।

नेपालमा २००४ सालदेखि सवारी साधन दर्ता प्रक्रिया सुरु गरिएकामा हालसम्म २६ लाख सवारी साधन रहेको विभागको तथ्याङ्क छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता सर्वेन्द्र खनालका अनुसार हाल देशभर तीन हजार ११४ ट्राफिक जनशक्ति छ । जसमध्ये काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा एक हजार ४०४ ट्राफिक प्रहरी छन् ।

उपत्यकाको सवारी व्यवस्थापनका लागि स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा केही महिनादेखि प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायब उपरीक्षकको दरबन्दी खाली छ । महाशाखाका प्रमुख मिङमार लामा समयानुकूल ट्राफिक सङ्गठनलाई परिवर्तन गर्दै लैजानुपर्ने बताउँछन्। उनी भन्छन्, “सवारी साधनको तुलनामा पूर्वाधार नभएकाले काम गर्न कठिनाइ भएको छ ।”

उपत्यकाको मोटरबाटो बिग्रिनुका साथै बर्खायाममा खाल्डोमा पानी जम्मा हुँदा कतिपय स्थानमा घन्टौँ सवारी जाम समेत हुनेगरेको छ । उपत्यकामा हाल एक हजार ५०० किलोमिटर हाराहारीमा सडक भए पनि ४०० देखि ५०० किलोमिटर सडकमा मात्र बढी सबारी साधन गुड्दछन । नयाँ बानेश्वर, थापाथली, सिंहदरबार, कोटेश्वर, कलङ्कीलगायतका मुख्य चोकमा अहिले पनि सात मिनेटसम्म सवारी साधन जामपर्ने गरेको छ ।

महाशाखामा भएको कुल जनशक्तिमध्ये बाटोमा खटिने जनशक्ति भने एक हजारको हाराहारीमा हो । उपत्यकामा एकजना ट्राफिकले एक हजार सवारी साधनको व्यवस्थापन गर्नुपर्छ तर यसका लागि लागि कम्तीमा एक हजार ८०० देखि दुई हजारसम्म जनशक्ति आवश्यकपर्ने महाशाखाले जनाएको छ ।

विश्वका कतिपय मुलुकमा ट्राफिक व्यवस्थापन कम्युटर प्रणालीमार्फत गर्ने गरेपनि नेपालमा भने हातको इसारामा हुँदै आएको छ । बाटोमा भएका ट्राफिक बत्ती बिग्रिँदा ट्राफिकले उक्त मार खेप्नुपरेको हो । अच्युत रेग्मी/रासस