काठमाडौं –नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले एउटा ‘जोगी डाक्टर’ (डा. गोविन्द केसी) लाई हराउन सफल भएकोमा दुईतिहाइ बहुमतको नेकपाको सरकारलाई बधाई दिएका छन् ।


ADVERTISEMENT


आइतवार अपरान्ह बसेको प्रतिनिधि सभाको बैठकको सुरुमा विशेष समय लिएर बोल्दै सांसद थापाले मेडिकल माफियाको पक्षमा लागेर डा. केसीलाई उठाउन सकेको भन्दै कटाक्षसहित सरकारलाई बधाई दिएका हुन् ।


ADVERTISEMENT

# # #


‘सरकारलाई बधाई छ, जोगी डाक्टरलाई हराएकोमा, सरकारका कारण लोकमानसिंहदेखि कालिकास्थानमा टहरामा मेडिकल कलेज चलाउनेसम्म खुसी भएका छन्, दुईतिहाइ देख्दैछौँ माफियाको पक्षमा’, सांसद थापाले भने,‘जनताले त दुईतिहाइको सरकार देख्न पाएनन् तर माफियाहरुले दुईतिहाइको सरकार देख्न पाए ।’

यस्तै उनले प्रधानमन्त्री केपी ओलीले संसारलाई नेपालले आश्चर्यचकित बनाएको बताएको सन्दर्भ उल्लेख गर्दै अब विपक्षी कांग्रेसले सरकारलाई आश्चर्यचकित बनाउने चेतावनी दिएका छन् । उनले विपक्षीको अवरोधका बाबजुद चिकित्सा विधेयक पास गरिएको घटना आफूहरुले नबिर्सने बताए । अब कांग्रेसले संसद् र सडकबाट सरकारलाई आश्चर्यचकित बनाइदिने चेतावनी उनले दिए ।

आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई सरकारलाई ‘देखाइदिएको’ मा व्यंग्य गर्दै उनले सरकार र सत्तारुढ पार्टीलाई बधाइ दिएका थिए । उनले चिकित्सा शिक्षा विधेयक पास गरिए पनि सत्तापक्षको स्वार्थ पूरा हुन नदिने नदिने बताए । उनले विधेयक पास भएपछि लोकमान सिंह कार्की र मेडिकल कलेजवालाहरु खुसी हुने अवस्था आएको बताएका थिए ।

उनले दुई तिहाईको प्रयोग डा. गोविन्द केसीको विरुद्धमा भएपनि जनताको पक्षमा भने नभएको जनाए । प्रधानमन्त्रीले छल र वितण्डतावादी शैली अपनाएको भन्दै उनले आलोचना गरे ।

सांसद थापाले ओली नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोग र वित्तीय आयोगलाई निकम्मा बनाएर सानो कोठरीबाट सरकार चलाउन खोजेको पनि आरोप लगाए । ‘प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्दै गर्दा विवादित संस्थाको आयोजक भएर देशको बेइज्जत गरियो’, उनले भने, ‘नयाँ संकट नेपालमा आइरहेको छ । प्रधानमन्त्रीज्यू संसद अगाडि उभिएर दागै दाग लागेको अनुहार सफा गर्नुस् । ऐना अगाडि दाग देख्दै गर्दा प्रधानमन्त्री ऐनाको फोहोर मेटौँ भन्छन्, अनुहारको होइन ।’