काठमाडौं । भारतका तीन विश्वविद्यालयका प्रतिनिधिले नेपालका विभिन्न कलेजमा विद्यार्थी र अभिभावकलाई ‘करियर गाइडेन्स सेसन’ परामर्श सञ्चालन गरेका छन् ।


ADVERTISEMENT


नेपालका ‘ग्यासियर इन्टरनेशनल’, ‘ट्रिटन’, ‘साइपाल’, ‘लालीगुराँस नेशनल’, ‘जुब्लियन्ट’, बूढानीलकण्ठलगायत कलेजमा परामर्श चलिरहेको आयोजक ‘अनट्र्याक कन्सल्टेन्सी’ र ‘ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्स’ले जनाएको छ । सेसनका लागि भारतको अनसल विश्वविद्यालयका उपकुलपति डा राज सिंह, एस आरएम विश्वविद्यालयका प्राध्यापक विनित बजाज, बिएमएल मुन्जाल विश्वविद्यालयका सहप्राध्यापक विनायक कल्लुरीलगायत अनसल विश्वविद्यालयका प्रतिनिधि काठमाडौँ आएका छन् ।


ADVERTISEMENT

# # #


यही माघ २० गतेदेखि शुरु भएको सेसन माघ २५ गतेसम्म नेपालका विभिन्न कलेजमा पुगी त्यहाँका विद्यार्थीबीच हुनेछ । एक्काइसौँ शताब्दीको बजार सुहाउँदो र प्राविधिक शिक्षालाई प्राथमिकता दिएका ती विश्विद्यालयले आफ्ना विषय, अध्ययनका प्रक्रिया तथा ज्ञान, सीप र क्षमतायुक्त शिक्षाबारे जानकारी दिने अनसल विश्वविद्यालयका उपकुलपति डा सिंहले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताए। उनले योजना र विकास, स्वास्थ्य र कम्प्युटर विज्ञान, इञ्जिनियरीङ र विविध विषयमा विद्यार्थीले परामर्श पाइसकेको बताए।

ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्सका निर्देशक गुञ्जन चौधरीले ती विश्वविद्यालयले नेपाली कलेजसँग अनुसन्धान र मानव संसाधन विकासका विषयमा सहकार्यको समेत योजना ल्याएको जानकारी दिए । उनले नेपालजस्ता मुलुकका विद्यार्थीका लागि तेस्रो मुलुकमा भन्दा भारतीय विश्वविद्यालयमा शुलभ शिक्षा मिल्ने दाबी गरे। भारतसँगको खुल्ला सिमाना र त्यहाँ अध्ययनमा जान अनिवार्यरुपमा ‘नो अब्जेक्सन’ पत्र लिनु नपर्ने भएकाले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको यकिन आँकडा भने छैन । अनौपचारिक विवरणअनुसार वार्षिक करीब पाँच हजार नेपाली विद्यार्थी अध्ययनका लागि भारत जान्छन् । हाल अष्ट्रेलियामा सबैभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् । रासस