काठमाडौं । प्रतिनिधिसभा बैठकमा बुधबार पाँच मन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने तयारी छ । सांसदले दर्ता गराएका मौखिक प्रश्नको आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा मन्त्रीले पालैपालो जवाफ दिने तयारी रहेको जनाइएको छ ।


ADVERTISEMENT


संसद सचिवालयका अनुसार बुधबार गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले जवाफ दिनेछिन् । सचिवालयमा मन्त्रीका लागि सांसदले ८८ वटा मौखिक प्रश्न दर्ता गराएका छन् । यसैगरी लिखित १२ वटा प्रश्न पनि छन् ।


ADVERTISEMENT

# # #


सचिवालयका अनुसार गृहमन्त्री थापासँग कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि दोषी पत्ता लाग्न नसकेको विषयमा प्रश्न दर्ता गराएकी छन् ।

त्यस्तै कांग्रेसकै देवेन्द्रराज कँडेलले भक्तपुरमा एघार वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरिएको र लगत्तै प्रहरीको इकाउन्टरमा दोषी मारिएइको विषयमा गृहमन्त्री थापाको जवाफ माग गरेका छन् ।

नेकपाकी सांसद सरिता न्यौपानेले पैतृक सम्पत्ति सम्बन्धित विषयमा माहिला बालबालिका मन्त्रीसँग जवाफ माग गरेकी छन् । त्यस्तै सांसदहरु दीलेन्द्रप्रसाद बडू, डा. मिनेन्द्र रिजाल, अहतरकमाल मुसलमान, रंगमति शाही, राबहादुर बिष्ट, प्रकाश स्नेही, प्रेम सुवाललगायतले प्रश्न दर्ता गराएका छन् ।

प्रतिनिधिसभा नियमावली अनुसार एक दिनको प्रश्नोत्तरमा बढीमा २० वटासम्म मौखिक प्रश्न सोध्न सकिन्छ भने एउटा सांसदले बढीमा दुईवटा मात्र प्रश्न गर्न पाउँछन् । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।