काठमाडौं । बंगलादेश प्रिमियर लिग र नेपालको युएई सिरिज खेलेर विग व्यासका लागि अस्ट्रेलिया फर्किएका सन्दीप लामिछानेमाथि उनको टिम मेलबर्न स्टार्सको आश बढेको छ ।


ADVERTISEMENT


बंगलादेश प्रिमियर लिग खेल्न आउनुअघि बिग ब्यासको चार खेलमा सन्दीपले ६.८१ को इकोनोमीमा बलिङ गर्दै आठ विकेट लिएका थिए । यसैले सेमिफाइनलअघि दुई खेल खेल्न बाँकी रहेका बेला सन्दीपको भूमिका महत्वपूर्ण रहने आँकलन गरिएको छ ।


ADVERTISEMENT

# # #


सन्दीपले सुरुमा खेलेका चार खेलमा मेलबर्नको दुई खेलमा हार र दुईमा जित भएको थियो । पहिलो खेलमा सन्दीपले दुई विकेट लिएका बेला र दोस्रो खेलमा तीन विकेट लिएका बेला मेलबर्न पराजित भएको थियो । त्यसपछिका दुई खेलमा उनले तीन विकेटसहित टिमको जितमा सामेल हुन पाएका थिए ।

शुक्रबार मेलबर्नको खेल ब्रिसबेन हिटसँग हुँदै छ । जसमा जित निकाल्न सके मेलबर्नको सेमिफाइनलमा स्थान पक्का हुनेछ ।

सन्दीपले बंगलादेश प्रिमियर लिगमा सेलहेट सिक्सर्सबाट भने ६ खेलमा चार विकेट मात्र लिएका थिए । सन्दीपले युएईसँगको सिरिजमा तीन एकदिवसीयमा सात विकेट र तीन टी–२० मा पाँच विकेट लिएका थिए ।

सन्दीप मेलबर्न टिममा फर्किएसँगै लिएम प्लङकेटको स्थान गुमेको छ । प्लङकेटले आठ खेलमा १२ विकेट लिएका थिए । उनको इकोनोमी रेट भने ८.२२ पर ओभर रहेको थियो । यसैले सन्दीप किफायति हुने आशमा मेलबर्न टिम रहेको छ ।

बिग व्यासमा १३ खेल खेलेको होबर्ट हुरिक्यान्स २० अंकसहित शीर्षमा छ । दोस्रोमा १६ अंकसहित १३ खेल खेलेको सिड्नी सिक्सर्स रहेको छ । तेस्रोमा १४ खेलमा १६ अंक रहेको मेलबोन रेनेगेट्स रहेको छ ।

अहिलेसम्म चौथो स्थानमा रहेको मेलबर्नको १२ खेलमा १२ अंक रहेको छ । यसैले शुक्रबार ब्रिसबेनसँग हुने खेल या आइतबार सिड्नीसँग हुने खेलमा एक खेल जितेर पनि मेलबर्नले सेमिफाइनलमा स्थान बनाउन सक्नेछ ।