रामचन्द्र पाण्डे, काठमाडौँ– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सले लज्जास्पद हार ब्यहोरेको छ । अष्ट्रेलियामा जारी बिगब्यास लिग (बीबीएल)मा सन्दीपको टिम मेलबर्न ब्रिसब्यान हिट्ससंग १० विकेटले पराजित भएको छ । शुक्रबार भएको खेलमा पराजित भएसंगै मेलबर्नले एक खेल अगावै सेमिफाइनल पुग्ने मौका गुमाएको हो ।


ADVERTISEMENT


टस हारेर ब्याटिङ थालेको मेलबर्नले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनायो । १५७ रनको लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको घरेलु टिम हिट्सले १० विकेटको शानदार जित मात्र निकालेन मेलबर्नका बलरलाई धुरुधुरु रुवायो । हिट्सको इनिङमा छक्का र चौकाको वर्षात भयो । जसमा १३ वटा छक्का र १० वटा चौका प्रहार भए ।


ADVERTISEMENT

# # #


हिट्सका लागि ओपिनिङमा आएका बिन कटिङ र म्याक्स ब्य्रान्टले स्टार्सका बलरलाई नराम्रोसंग चुटे । उनीहरुले १० ओभर अर्थात् ६० बलमै बिना विकेटको क्षतीमा १५८ रन पूरा गरे । कुल खेलिएका ६० बलमा हिट्सका ओपनरले २३ बललाई बाउण्ड्री लाइन नघाए । त्यसका लागि सुरुमै आक्रामक बनेका १९ वर्षीय ब्य्रान्टले ३० बलमा ७१ रन जोड्दा कटिङले ३० बलमा नै ८१ रनको विष्फोटक ब्याटिङ गरे । ब्य्रान्ट ६ चौका र ५ छक्का हान्दा कटिङले ८ छक्का र ४ चौका प्रहार गरे ।

शानदार जित निकाल्ने क्रममा हिट्सले ६ ओभर अर्था पावरप्लेमै ९४ रनको विशाल योगफल बनायो भने सात ओभरको समाप्तीमा ११५ रन जोड्यो । सन्दीप लामिछाने बलिङमा आउनु अघि नै मेलबर्नको हातबाट खेल गुमिरहेको थियो । आठौँ ओभरमा बलिङमा आएका सन्दीपले विकेट लिन नसकेपनि विपक्षी ब्याट्सम्यानको गतिलाई केही थाम्ने प्रयास गरे । उनले उक्त ओभरमा ८ रन मात्र खर्चिँदा कुनै पनि बाउन्ड्रि दिएनन् । आफ्नो पहिलो ओभरको चौथो बलमा सन्दीपले विकेट निकाल्ने प्रयास गरेका थिए । तर, सेप्सेन गोचले क्याच ड्रप गर्न पुगे ।

२ ओभर मात्र बलिङ गर्ने मौका पाएका सन्दीपले अन्तिम तथा दोस्रो ओभरमा भने महंगा साबित भए । उनले उक्त ओभरमा ३ छक्का सहित २० रन खाए । सन्दीपले २ ओभरमा २८ रन खर्चिए । अब मेलबर्न स्टार्सले आफ्नो अन्तिम खेल सिड्नी सिक्सर्ससंग आइतबार नेपाली समय अनुसार पौने ८ बजे घरेलु मैदान मेलबर्न क्रिकेट ग्राउण्डमा खेल्नेछ ।

उक्त खेलमा जित निकाल्न सकेमा मेलबर्न प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्नेछ ।

यसअघि सन्दीपले मेलवर्नका लागि चार खेल खेलेमा थिए । जसमा ८ विकेट लिएका सन्दीपले सबै खेलमा विपक्षी कप्तानलाई आउट पारेका थिए । त्यसपछि उनी बीपीएल खेल्न बंगलादेश गए । सिल्हेट सिक्सरर्सबाट खेलेका सन्दीपले ६ खेलमा ४ विकेट लिएका थिए ।

त्यसपछि उनी नेपाल र युएईविरुद्धको सिरिजका लागि युएई पुगे । जहाँ नेपालका लागि तीन खेलको एक दिवसीय र समान तीनै खेलको टी-२० अन्तर्राष्ट्रियको दुईवटै सिरिज जिताउन महत्वपूर्ण प्रदर्शन गरेका थिए । जसमा सन्दीपले एकदिवसीयमा ७ र टी-२० मा पाँच विकेट चट्काएका थिए ।