काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्ध लडेका योद्धाले हरेक क्षेत्रमा आफ्नो प्रतिभा देखाएर कमजोर नरहेको पुष्टि गर्दै आएको बताएका छन् ।


ADVERTISEMENT


विगतकी लडाकु मिरा राई धाविका बनेर विश्वमा नाम चलाउँदा गर्वको अनुभूति भएको र जनयुद्धका १० सिपाही सगरमाथा चढेर एउटा किर्तिमान कायम गरेको स्मरण गर्दै अध्यक्ष दाहालले भने, “सामान्य या बुद्धि नभएका मान्छे युद्धमा लागेको होइन । बुद्धि भएका नै युद्धमा लागेका थिए भनेर आज पुष्टि भएको छ ।”


ADVERTISEMENT

# # #


मंगलबार राजधानीमा सरल सहयात्रीले लेखेको उपन्यास ‘शिखरको ढुङ्गा’ सार्वजनिकीकरण तथा अन्तरसंवाद कार्यक्रममा उनले यो उपन्यास पनि त्यसैको कडी भएको जिकिर गरे । सहयात्री वौद्धिकता र साहित्यिक अनुभूतिको तीब्रतासहितको लेखक भएको औँल्याउँदै दाहालले लेखक र दिवङ्गत छोरा प्रकाश दाहालसहित १० जनाले खास उद्देश्यले सगरमाथा चढेको बताउनुभयो । सगरमाथा चढ्ने बेलामा सरकारबाट सहयोग दिन खोज्दा चर्को आलोचना भएपछि आफैँले सहयोग दिने निर्णय खारेज गरेको स्मरण गर्दै दाहालले उनीहरु आफैँले चन्दा सङ्कलन गरेर आरोहण गरेको उल्लेख गरे।

सगरमाथा चढ्ने जोखिम उठाएर विजयी प्राप्त गरेको बताउँदै उनले शिखरको ढुङ्गा पनि त्यही विजयी भावनाको अभिव्यक्ति हो भने । अध्यक्ष दाहालले आफूले निर्माण गरेको विचारबाट बनेको शक्तिले गर्ने कीर्तिमानलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिँदै उनले गणतन्त्र ल्याउन मुख्य भूमिका खेल्ने पात्र उत्कृष्ट भएर देखिनु तथा गणतन्त्रको रक्षाप्रति चिन्तित भएर उपन्यास लेख्नु चानचुने कुरा नभएको दाबी उनको थियो ।

फरक प्रसङ्ग जोड्दै अध्यक्ष दाहालले पहिलो पटकको प्रधानमन्त्रीत्वको कार्यकाल झिलिमिलीमै बितेकोे र दोस्रो कार्यकाल राष्ट्रलाई नयाँ दिशा दिनका लागि योजना निर्माणको अवधिका रुपमा रहेको बताउँदै अहिले देश नयाँ अभियानसँगै समाजवादतर्फ अघि बढेको बताए।

सहयात्रीको उपन्यास शिखरको ढुङ्गामाथि टिप्पणी गर्दै उपन्यासकार नयनराज पाण्डेले उपन्यासमा भाषाको लालित्यता गजबको रहेको प्रतिक्रिया दिए । “उपन्यासमा आजाद भन्ने पात्रले आफ्नो छोरीका लागि शिखरको ढुङ्गा खोज्छ, लेखकले त्यो ढुङ्गालाई गणतन्त्रसँग तुलना गर्नुभएको छ”, पाण्डेले भने, “उसले गणतन्त्रलाई अर्को पुस्तामा हस्तान्तरण गर्न चाहन्छ ।” यो बिम्ब नेपाली साहित्यमा कम प्रचलनमा आउने भएकाले साहै्र सार्थक प्रयोग भएको पाण्डेले बताए। तर कहिले “यसमा कहीँ ढुङ्गालाई नरिवल ठान्दिएर गणतन्त्र बाँदरको हातमा नरिवल भैदियो भने के गर्ने भन्ने चिन्ता छ”, उनले भने।

छोरीलेसँगै सगरमाथा आरोहण गर्ने चाहना राख्दा तिमी जान सक्दैनौँ, सगरमाथा जस्तै ढुङ्गा ल्याइदिन्छु भनेपछि उपन्यासभरि त्यो ढुङ्गाले अर्थ राखेको बताउँदै साहित्यकार सुधा त्रिपाठीले एउटा लेखक हातमा कलम बोकेर सगरमाथा चढेर त्यो प्रमाण बेलिविस्तारसहित यो उपन्यासका रुपमा हाम्रा अगाडि राखिदिएको उल्लेख गरे। नाफाको जीवन बाँचिरहेका व्यक्तिको यो उपन्यास पढ्दै जाँदा जनयुद्ध कठिन हो कि सगरमाथा आरोहण कठिन हो भन्ने प्रश्न अहिले पनि उब्जिरहेको उनले बताए।

त्रिपाठीले लेखक सरल सहयात्रीले त्रिपाठीको आशङ्का मेटाउँदै जनयुद्धको कर्म र सगरमाथा आरोहणको कर्म फरक नभएको प्रतिक्रिया दिए । हिमाल आरोहणसँग सम्बन्धित नभए पनि ‘हिमालको मान्छे’ भनेर दौलतविक्रम विष्टले एउटा उपन्यास लेखेको स्मरण गर्दै उनले यो उपन्यासले भने सगरमाथा आरोहणका विषयलाई सुन्दर ढुङ्गले प्रस्तुत गरेको उल्लेख गरे।

लेखक सहयात्रीले जनयुद्धका योद्धा कमजोर नभई नयाँ कर्ममा सफल हुन सक्छौँ भन्ने विश्वास दिलाउन पुस्तक लेखेको जानकारी दिँदै जनयुद्धका योद्धाकै आधारबाट प्राप्त गणतन्त्रलाई नयाँ ढङ्गले प्रयोग गर्न सक्छौँ भन्ने उद्देश्यले १० यात्रीले सगरमाथा चढेको र त्यही उद्देश्य परिपूर्ण गर्न उपन्यास लेखेको बताए। “गणतन्त्र ल्याउने शहीदले आज पनि प्रश्न गर्ने ठाउँ रहेको भन्दै उनले थपे, “त्यो शहीद, जो शिखरको ढुङ्गा बोकेर आएको छ, उसले ढुङ्गा हामीलाई छाडेर गएको छ, त्यो गणतन्त्र, त्यो ढुङ्गा वा त्यो परिवर्तनलाई हामी अगाडि बढाउन चाहन्छौँ ।”
रासस