काठमाडौँ– नेपालमै पहिलोपटक गायत्री अश्वमेध महायज्ञ फागुन १९ देखि २२ गतेसम्म वीरगञ्जमा आयोजना हुने भएको छ । महायज्ञ आयोजना गर्न मूल आयोजक समिति गठन गरिएको छ । धर्ती र वातावरणको शुद्धिका लागि महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका सहसंयोजक डा. राजु अधिकारीले बताए ।


ADVERTISEMENT


‘शतपथ ब्राह्मण’ नामक ग्रन्थमा परिस्थिति र मनस्थितिलाई परिष्कृत गर्न अश्वमेध महायज्ञ गरिने उल्लेख छ । समितिका अध्यक्ष एवं गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोले देशवासीलाई साहस तथा बल वृद्धि गरी राष्ट्रलाई समर्थ बनाउन महायज्ञ गर्न लागिएको जानकारी दिए । महायज्ञमा माटोको घोडा बनाएर सजाएर राखिने उनले सुनाए ।


ADVERTISEMENT

# # #


वीरगञ्ज उपमहानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले महायज्ञमा पाँच लाख पर्यटक आउने अनुमान गरी तयारी भइरहेको बताए । ५६ हजार ४४४ जनाले महायज्ञमा आउन अनलाइनका माध्यमबाट नाम लेखाइसकेको जानकारी पनि उनले दिए ।

महायज्ञमा आउने ४० देशका पर्यटकलाई होटल, लज, धर्मशाला, टेण्टसहित वीरगञ्जवासीका घर घरमा राख्ने तयारी गरिएको उपमहानगरपालिकाले जनाएको छ । आयोजक समितिका सहसंयोजक डा.अधिकारीले नेपालमा आयोजना गरिएको पहिलो भए पनि आधुनिक कालको ४५औँ महायज्ञले नेपालीलाई अश्वशक्ति प्रदान गर्ने विश्वास व्यक्त गरे ।

स्थानीय गाईको घिउबाट गरिने यज्ञधुम्रलाई सेवन गरी धेरै रोगबाट मुक्तिका लागि यज्ञचिकित्साको प्रयोग गरिने उनले बताए । प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले इन्टरनेट र फेसबुकका कारण मानवीयता र अध्यात्म हराउन थालेकामा महायज्ञले पुनःस्थापना गर्न सहयोग गर्ने आशा गरिएको बताए ।

विश्व कल्याणका लागि महायज्ञ सफल बनाइनुपर्नेमा उनले जोड दिए । महायज्ञमा एकैपटक हजारौँ ब्राह्मणले अनुष्ठान गर्ने जनाइएको छ । कार्यक्रममा सहभागिताका लागि जात तथा लिङ्गका आधारमा विभेद गरिने छैन ।