काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीकर्ताका लागि नेपाल ठूलो सम्भावनायुक्त मुलुक भएको बताएका छन्।


ADVERTISEMENT


कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न लगानीकर्तालाई आह्वान गरे।


ADVERTISEMENT

# # #


‘यहाँ सबै क्षेत्रमा हुने लगानी नाफामूलक छ,’उनले भने,‘व्यवसायका लागि सुनिश्चित अवसर र निश्चित नाफा आवश्यक पर्छ। नेपालले यो दुवै दिन्छ।’

कन्क्लेभको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले लगानीकर्तालाई नेपालले खुला हृदयले स्वागत गर्ने बताए।

उनले वैदेशिक लगानीमा नेपालमा उद्योग खोल्ने र आर्थिक क्रियाकलापमा मात्रै सघाउने नभई बाँकी विश्वसँग जोड्न पनि सघाउने बताए।
‘वैदेशिक लगानीले उद्योगको वृद्धिमा सघाउने तथा प्रतिस्पर्धा र अन्वेषणमा सघाउने मात्रै नभई यसले देशलाई बाँकी विश्वसँग जोड्न पनि मद्दत गर्छ,’ उनले भने, ‘वैदेशिक लगानीलाई हामी खुला हृदयले स्वागत गर्छौं।’

सरकारले आन्तरिक लगानी परिचालनको लागि पर्याप्त काम गरिरहेको र त्यसलाई सघाउने गरी विदेशी लगानी आवश्यक परेको प्रधानमन्त्री ओलीले बताए।

उनले कृषिको आधुनिकीकरण, विद्युत उत्पादन र प्रसारण, पूर्वाधार विकास, पर्यटन र उत्पादनमुलक उद्योग, सूचना प्रविधि, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा लगानीमार्फत अर्थतन्त्रको मुहार फेर्न सकिने आकलन सरकारले गरेको बताए।

लगानीकर्तालाई आश्वस्त पार्दै प्रधानमन्त्री ओलीले लगानी सहजीकरणको लागि सुशासन र नीतिगत क्षेत्रमा काम गर्ने बताए।

उनले व्यवसायमैत्री कानुनहरू केही निर्माण भइसकेको र केही निर्माण हुने क्रममा रहेको बताए।

‘सक्रिय रुपमा प्रशासनिक सुधार गर्ने र सरकारी संयन्त्रहरूलाई बलियो बनाउने काम भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने,‘लगानीकर्तालाई एकद्वारबाट सेवा दिने सरकारको योजना छ।’