कुमार चौलागाईं, काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल सोमबारदेखि थाइल्याण्डमा शुरु भएको छ । प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो । नेपालले आफ्नो प्रतियोगिताको सुरुवात मंगलबार मलेसियाविरुद्ध खेलेर गर्नेछ ।


ADVERTISEMENT


प्रतियोगितामा एशियाका सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक थाइल्याण्डसँगै नेपाल, युएई, मलेशिया, चीन, हङकङ र कुवेतले राउण्ड रोबिन लिगमा खेल्नेछन् । प्रत्येक टिमले छ्र÷छ खेल खेल्नेछन् । नेपालका लागि विश्वकपसम्म पुग्ने यो पहिलो ढोकाको रुपमा रहेको छ । क्वालिफायरमा एकआपसमा खेलिसकेपछि अङ्कतालिकामा शीर्ष स्थानमा रहने टिम ग्लोबल क्वालिफायरमा छानिनेछ । त्यो पनि दुई विश्वकपको क्वालिफायरका लागि । क्वालिफायरअघि थोरै समयको तयारी भए पनि थाइल्याण्डमै भएको टी–२० स्म्यास प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको नेपाली महिला टोली उच्च मनोबलका साथ थाइल्याण्ड गएको छ ।


ADVERTISEMENT

# # #


राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा छानिनेछ । नेपालले गत महीना थाइल्याण्डमै भएको टी–२० स्म्यास प्रतियोगितामा थाइल्याण्डसँगै युएई, चीन र मलेशियासँग खेलिसकेको छ । समूहचरणमा अपराजित रहेको नेपालले सेमिफाइनलमा इण्डोनेशियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । तर फाइनलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

क्वालिफायरमा आयोजक थाइल्याण्डलाई ग्लोबल क्वालिफायर पुग्ने मुख्य दाबेदारको रुपमा हेरिएको छ । यसअघिका चार संस्करणमा पनि थाइल्याण्ड नै विजेता बन्दै अघिल्लो चरण पुगेको थियो । यसपटक थाइल्याण्डलाई नेपाल र युएई जस्ता राष्ट्रले चुनौती दिने अपेक्षा गरिएको छ । क्वालिफायरका सबै खेलले टी–२० अन्तर्राष्ट्रियको मान्यता पाउने भएकाले वरियतामा रहेका टिमका लागि पनि यो क्वालिफायरले असर गर्नेछ । टी–२० वरियतामा थाइल्याण्ड १२औँ, युएई १४औँ र नेपाल १६औँ स्थानमा छन् । एशियाली छनोटसहित अफ्रिका, अमेरिका, युरोप र ओशियानाबाट गरी कूल २७ राष्ट्रले पहिलो चरणको छनोटमा प्रतिस्पर्धा गर्नेछन् । क्षेत्रीय छनोटमा एशियाबाट सात टिमले प्रतिस्पर्धा गर्दैछन् भने अफ्रिकाबाट नौ, ओशियानाबाट छ, युरोपबाट तीन र अमेरिकाबाट दुई राष्ट्रले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली शनिबार त्यसतर्फ गएको छ । मुख्य प्रशिक्षक विनोद दास र कप्तान रुबिना क्षेत्रीले प्रशिक्षण राम्रो भएकाले नेपालको दोस्रो क्वालिफायरमा छनोट हुने लक्ष्य रहेको बताए  । रासस

नेपाली टिम

रुबिना क्षेत्री (कप्तान)
सीता रानामगर (उपकप्तान)
सरिता मगर
नेरी थापा
इन्दु बर्मा
सोनु खड्का
आरती विडारी
काजल श्रेष्ठ
रोमा थापा
कविता कुँवर
अप्सरा बेगम
ममताकुमारी चौधरी
विन्दु रावल

टिम व्यवस्थापन

विनोद दास (प्रशिक्षक)
नीरा राजोपाध्याय (सहायक प्रशिक्षक)

यस्तो छ नेपालको खेल तालिका

नेपालविरुद्ध मलेसिया फागुन ७ गते (मंगलबार)

नेपालविरुद्ध थाइल्याण्ड फागुन ९ गते (बिहीबार)

नेपालविरुद्ध संयुक्त अरब इमिरेट्स (यूएई) १० गते

नेपालविरुद्ध हङकङ फागुन १२ गते

नेपालविरुद्ध चीन १३ गते

नेपालविरुद्ध कुवेत १५ गते