काठमाडौँ– थाइल्याण्डमा जारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको हो ।


ADVERTISEMENT


थाइल्याण्डको ब्याङ्ककस्थित ट्रेडथाई मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १२६ रन बनायो । १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रनमा समेटियो। मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालकी करूणा भण्डारी र सरिता मगरले २/२ विकेट लिँदा कविता कुँवर र सीता रानामगरले १–१ विकेट हात पारे।


ADVERTISEMENT

# # #


मलेसियाका लागि क्रिष्टिना वारेतले सर्वाधिक २५ रनको योगदान दिइन्। विनिफ्रिड डुराइ सिंगामले १८ रन बनाउनुबाहेक अन्यले राम्रो खेल्न सकेनन् । यसअघि नेपाललाई बलियो योगफलसम्म पुर्‍याउन कप्तान रुविना क्षेत्री र उपकप्तान सिता रानामगरले उत्कृष्ट ब्याटिङ गरे। ओपनर सिता राना मगरले ४० बल खेल्दै २ चौकासहित ४२ रन बनाउँदा कप्तान रूविनाले २५ बलमा नटआउट ३३ रन जोडिन्। उनले ३ चौका प्रहार गरेकी थिइन्।

ओपनर काजल श्रेष्ठले १६ रन बनाउँदा इन्दु बर्माले १३ रन जोडिन्। नेरी थापा १३ बलमा ६ रन जोड्दै रनआउट भइन । ममता चौधरी कुनै बल नखेल्दै रनआउट भइन ।सरिता मगरले १ बलमा १ रन जोडिन् । नेपालका लागि ओपनरद्वय सिता र काजलले ४६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। त्यसपछि कप्तान रुविना क्षेत्री र सिताले २५ रनको आक्रामक साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलमा पुर्‍याए।

मलेसियाका लागि जुमिका आजमी, साषा आजमी र विन्फ्रिड दुराइसिङ्गमले १/१ विकेट हात पारेका थिए। छनोटमा ७ टोलीको सहभागिता रहेको छ। यो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले अर्को खेल बिहीबार आयोजक थाइल्याण्डसंग खेल्नेछ ।

राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहने टोली विश्वकप छनोटको अर्को चरणमा छनोट हुनेछ।