काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकारले बढुवा भएका नयाँ प्रहरी अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । महानिरीक्ष खनालले गृह मन्त्रालयको फागुन ७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्।


ADVERTISEMENT


दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका १३ जना र प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति भएका २६ जना रहेका छन्। सोही निर्णयले पदोन्नति भएका १ जना प्रहरी वरिष्ठ उपरीक्षक हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् ।


ADVERTISEMENT

# # #


दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले संगठन र सेवाप्रतिको निष्ठा, क्षमता, व्यावसायिकता, इमानदारिता सहित प्रहरी कर्मचारीहरु सदैव संगठनको श्रीवृद्धिका लागि एक ढिक्का भएर काम गर्नुपर्ने बताए। राष्ट्रको सार्वभौममाथि असर गर्ने क्रियाकलाप तथा गैरकानुनी गतिविधि विरुद्ध कानुनी कारवाही गर्न प्रहरी कर्मचारीहरु अझै एकताबद्ध भई सशक्त र दृढताकासाथ अगाडि बढ्नुपर्ने उनले उल्लेख गरे।

प्रहरी संगठनलाई अझै सक्षम, बलियो र गतिशील बनाउन संगठनको भावना अनुरुप काम गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने “उत्कृष्टतामा पनि सर्वोत्कृष्ट हुन आफ्नो लगनशीलता नछोडनुस ।”

कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप भण्डारीले पदोन्नतिले आफूहरुमा थप उर्जा संचार भएको उल्लेख गर्दै सामुहिक रुपमा मन, वचन र कर्मले संगठन र नागरिकप्रतिको जिम्मेवारी पुरा गर्न दृढ संकल्पित भई काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

तस्बिरहरु : नेपाल प्रहरीको फेसबुकबाट