जाजरकोट – जाजरकोट–डोल्पा सडकखण्डको ११६ किलोमिटर सडकमा रु दुई हजार ३५० भाडा तिर्नुपर्दा यात्रु हैरान भएका छन् ।


ADVERTISEMENT


यात्रु ठाउँठाउँमा झनुपर्ने बाध्यताले झन सास्ती थपिएको छ । लामो समयपछि जाजरकोट–डोल्पा सडकखण्डको ‘ट्रयाक’ खुलेसँगै सो सडकका यात्रु चर्को भाडाको मारमा परेका छन् ।


ADVERTISEMENT

# # #


जाजरकोट सदरमुकामदेखि तल्लुसम्म रु ७००, रुकुमको अनाहदेखि डोल्पाको करवगाडसम्म रु ७००, करवगाडदेखि खदाङसम्म रु १५०, खदाङबाट–त्रिपुराकोटसम्म रु ४०० र सुपानीदेखि दुनैसम्म रु ४०० तिर्दा यात्रु हैरान भएका हुन् ।

दैनिक चर्को भाडाले यात्रु ठगिँदासमेत प्रशासन मुकर्दशक बनेको जाजरकोट नलगाड नगरपालिका यात्रु बद्री पन्तले बताए । जोखिमपूर्ण यात्रा, त्यसमा पनि छतमा राखेर यात्रु जथाभावी चलाउँदा कतिखेर दुर्घटना पर्ने हो थाहा नभएको पन्तको भनाइ थियो ।

आफू खुशी भाडा उठाउने र टिकट पनि यात्रुलाई उपलब्ध नगराउने पाइएको डोल्पा नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले बताए ।

चर्को भाडा लिएको भन्दै र यात्रु जथाभावी राखेको भन्दै जिल्ला प्रशासन कार्यालय डोल्पाले कडाइ गर्न थालेपछि जीप चालक आन्दोलनमा उत्रिएका छन् ।

जाजरकोट–डोल्पा सडकको धेरै ठाउँमा प्रहरी चौकी नहुँदा पनि यात्रु चर्को भाडाको मारमा परेको बताइएको छ । रासस