भादगाउँ– मध्यपुर थिमी–२ सानोठिमी वन कार्यालय ओरालोमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोकिन्न गई लडेर विपरीत दिशातर्फबाट आइरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा ७४ प ५५३ नंको मोटरसाइकलले विपरीत दिशा प्रदेश–३–०२–००२ प ६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सडकमा लडेको, विपरीत दिशातर्फबाट आउँदै गरेको बा२ख ४८६८ नंको बसले समेत ठक्कर दिँदा प्रदेश ३–०२–००२ प ६३ नंको मोटरसाइकल चालक काभ्रे देउपुर–३ घर भई हाल मध्यपुर–९ बोडे बस्ने २४ वर्षीय सन्तोष राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशील पाण्डेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रहरीले सवारी साधनसहित मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने २४ वर्षीय अरुणकुमार श्रेष्ठ र बस चालक सिन्धुपाल्चोक बलेफी–३ घर भई हाल पुरानो थिमी बस्ने २४ वर्षीय ताराबहादुर तामाङ नियन्त्रणमा लिएको छ ।

करेन्ट लागेर मृत्यु

भक्तपुर नगरपालिका गोलमढीमा करेन्ट लागेर आज एक जनाको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका–८ आदर्शचोक बस्ने ४२ वर्षीय गोविन्दप्रसाद छुक्कालाई करेन्ट लागेर ज्यान गएको हो ।

प्रहरीका अनुसार भगोलमढीस्थित केशव कवाङको घरको माथिल्लो तल्लामा बिजुली मर्मतका क्रममा करेन्ट लागेर घाइते भई उपचारका लागि भक्तपुर अस्पतालमा लगिएकामा उपचारकै क्रममा छुक्काको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।