काठमाडौं – महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३औँ बैठकमा भाग लिन राष्ट्रपति भण्डारी अमरिकाको न्यूयोर्क पुगेकी छन् । उनलाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाकालागि नेपालका राजदूत डा अर्जुन कार्की र संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतकुमार राईले स्वागत गरेका थिए ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसंघको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले सोमबार साँझ आयोजना गरेको रात्रिभोजमा समेत सामेल भएकी थिइन् ।


ADVERTISEMENT

# # #


राष्ट्रसंघको प्रधान कार्यालयमा सोमबारदेखि शुरु भएको अधिवेशनका क्रममा राष्ट्रपति भण्डारीले आज हुने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपालको स्थायी प्रतिनिधिको कार्यालयले जनाएको छ । नारी नेत्रीले ‘विश्वलाई कसरी परिवर्तन गर्छन’ भन्ने विषयमा राष्ट्रपतिले मन्तव्य दिने कार्यक्रम रहेको जनाइएको छ । राष्ट्रपतिले समसामयिक विश्वका चुनौतीलाई सामना गर्न नारी नेतृत्वको महत्व र आवश्यकतामा केन्द्रीत रहेर मन्तव्य दिने कार्यक्रम रहेको स्थायी प्रतिनिधिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिसंगै भ्रमणमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, तिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसीलगायत सहभागी रहेका छन् ।