एजेन्सी – न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा परी हुनेको संख्या ४० पुगेको छ । प्रहरीले यसबारे आधिकारिक संख्या भने दिएको छैन ।


ADVERTISEMENT


जुमेको नमाज वाचनको समयमा भएको आक्रमणमा बालबालिकासहित ४० जनाको गोली लागेर ज्यान गएको न्यूजिल्यान्डका सञ्चारमाध्यमहरुले जनाएका छन् ।


ADVERTISEMENT

# # #


डेली मेलको रिपोर्ट अनुसार २८ वर्षे अष्ट्रेलियाली नागरिक मानिएका एक व्यक्तिले अन्धधुन्ध गोली हानेका थिए । प्रत्यक्षदर्शीले ती बन्दुकधारीले क्राइस्टचर्चस्थित अल नुर मस्जिदमा ५० सट गोली हानेको र उनीसँग सेमी–अटोमेटिक सटगन र राइफलसमेत भएको बताएका छन् ।

फेसबुक लाइभ गर्दै अन्धाधुन्धगोली प्रहार

ती बन्दुकधारीले अल नुर मस्जिदभित्र लाइभ–स्ट्रिम गर्दै अन्धधुन्ध गोली चलाएका थिए । घटना नेपाली समयअनुसार शुक्रबार बिहान सवा ६ बजेको हो ।
डेली मेल अष्ट्रेलियाको एउटा भिडियोमा एक व्यक्तिले भागिरहेका मानिसहरुमाथि दर्जनौं पटक गोली चलाइरहेको देख्न सकिन्छ । एक अभियुक्तलाई पक्राउ गरिएको छ तर ती बन्दुकधारी नै हुन् भन्ने पुष्टि भइसकेको छैन ।

साथै, लिनवुड मस्जिद नजिकै पनि बन्दुक चलेको आवाज सुनिएको बताइएको छ । उक्त मस्जिदभन्दा तीन किलोमिटर टाढा कारभित्र बमसमेत फेला परेको डेली मेलले बताएको छ ।

यसका साथै, क्राइस्टचर्च अस्पताल बाहिर पनि गोलीबारी भएको रिपोर्ट प्रकाशित भएको छ । पुलिसले प्रभावित इलाकाका जनतालाई स्थिती संकटपूर्ण भएका बताउँदै आफ्नो घरभित्रै बस्न आग्रह गरेको छ ।

प्राथना गर्न गएको थियो बंगलादेश टिम

शुक्रबार बिहान प्रार्थनाका लागि न्युजिल्याण्डको दक्षिणी टापूको क्रिस्टचर्च मस्जिद जान लागेका बंगलादेशी टोलीका सदस्यहरू गोलीकाण्डबाट जोगिए छन् ।

उनीहरू मस्जिद नजिकै पुग्दा गोली चलेको आवाज सुनिएको थियो। मस्जिदबाट मानिसहरू चिच्याउँदै बाहिर निस्किरहेका थिए।

मस्जिदभित्र गोली चलेपछि बंगलादेशी टोलीलाई केहीबेर बसभित्र राखिएको थियो। पछि उनीहरू बसबाट झरेर भागेका थिए। त्यसपछि उनीहरू नजिकैको हाग्ली पार्कमा भेला भए।

अहिले बंगलादेशी टोलीका खेलाडी, प्रशिक्षक र अन्य सदस्यलाई होटलको कोठाभित्र राखिएको छ।

शनिबार न्युजिल्याण्ड हुने अन्तिम टेस्ट म्याच रद्द भएको छ ।

न्यूजिल्याण्डका लागि कालो दिन

पुलिस अधिकारी माइक बुश अनुसार एक व्यक्तिलाई हिरासतमा लिइएको छ । उनले भने, ‘हमलामा अन्य व्यक्ति पनि समावेश छन् कि भनेर अनुसन्धान भइरहेको छ । यदि कोही व्यक्ति मस्जिद जाने तयारीमा हुनुहुन्छ भने आज नजानुहोस् । अर्को जानकारी नआउञ्जेल घरको ढोका बन्द राख्नुहोस् ।’

न्यूजिल्याण्डका प्रधानमन्त्री जसिन्दा आर्डर्नले उक्त आक्रमण न्यूजिल्याण्डको कालो दिनमध्येको एक बताएकी छिन् । ‘मलगायत न्यूजिल्याण्डका प्रत्येक जनता पीडित परिवारको साथमा छौ,’ उनले भनिन् ।

यसरी भयो फायरिङ 

ती बन्दुकधारी अल नुर मस्कमा दिउँसोको प्रार्थना भइरहेका बेला प्रवेश गर्छन् र अन्धधुन्ध गोली चलाउँछन् । २८ वर्षे ती व्यक्तिको फेबबुकमा राखिएको भिडियो स्ट्रिममा देखिए अनुसार उनले सय बढी फायरिङ गरेका छन् । सैनिकको झैं लुगा र हेलमेट लगाएका ती व्यक्तिले ‘अब यो पार्टी सुरु गरौं’ भन्दै आफ्नो ‘ताण्डव’ देखाउँछन् ।

गाडीमा राखिएका कम्तिमा ६ बन्दुकमध्ये एक उठाएर उनी मस्जिद भित्र छिर्छन् र आफूले देखेजति सबैलाई गोली ठोक्छन् । उनले प्रार्थनामा आएका सबैलाई गोली हान्छन् । कतिपय अवस्थामा उनले यत्तिकै पनि फायरिङ गरिरहेका छन् ।

उनले बन्दुक चलाउन छोडेका बेला घाइतेको दुखाईको आवाज सुन्न सकिन्छ । उनले थुप्रै पटक ‘रिलोड’ गर्छन् । थुप्रै पटक उनी घाइते व्यक्तिमाथि चढेर बन्दुक रिलोड गरेको र पुनः गोली चलाएको भिडियोमा देख्न सकिन्छ ।