काठमाडौँ – युवा खेलाडी रोहित कुमार पौडेल यू-१९ क्रिकेट टिमको नयाँ कप्तान बनेका छन् । १९ वर्षमुनिको विश्वकपका लागि अप्रिलमा मलेसियामा हुने एशिया छनोटको तयारीका लागि रोहितलाई कप्तानीको जिम्मेवारी दिइएको हो ।


ADVERTISEMENT


गत जनवरीमा युएईमा युएईसंग भएको भएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा रोहितले क्रिकेटका महान हस्ती मानिने भारतीय पूर्व कप्तान सचिन तेन्दुल्कर र पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको रेकर्ड तोड्दै विश्व कीर्तिमान कायम गरेका थिए । एक दिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका उनले त्यो सफलता १६ वर्ष १४६ दिनमा हात पारेका थिए ।


ADVERTISEMENT

# # #


यसअघि यू १९ को जिम्मेवारी आशिफ शेखले सम्हालेका थिए । नेपाली टिम प्रतियोगिताको तयारीका लागि शनिबार भारतको आन्द्र प्रदेश प्रस्थान गर्दैछ । जहाँ प्रदेशस्तरका खेलाडीसंग अभ्यास खेल रहेको छ ।

भारतमा रहँदा अभ्यास खेलमा गरेको प्रर्दशनका आधारमा मलेसियामा हुने छनोट प्रतियोगिताका लागि अन्तिम १४ जनाको टुंगो लाग्ने मुख्य प्रशिक्षक विनोद दासले बताएका छन् ।

शुक्रबार घोषणा गरिएको १८ सदस्यीय टिममा कप्तान रोहित पौडेलसंगै आसिफ शेख, पवन सराफ, सन्दिप जोरा, भिम शार्की, रवीकुमार शाह, रित गौतम, कमलसिंह ऐरी, र रासिद खान रहेका छन् । यस्तै सागर ढकाल, कुशल मल्ल, हरीबहादुर चौहान, प्रतिस जिसी, आकाश चन्द, सूर्य तामाङ, लोकेशबहादुर बम र शेर मल्लले पनि अन्तिम १८ मा स्थान बनाएका छन् ।