– रमेश पौडेल, अध्यक्ष, युवा संघ नेपाल

बम विस्फोट र चन्दा आतंक मच्चाएको भन्दै सरकारले विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको छ । यस्ले त जनतामा फेरी पनि द्वन्दकालिन त्रास मच्चायो नि ?


ADVERTISEMENT


विप्लवजीले जे गर्नु भयो, उहाँको राजनीतिक जीवनका लागि त्यो ठिक होइन । दलाल पूजीँको नष्ट गरेर राष्ट्रिय पूजीँको विकास गर्नुपर्छ भनेर उहाँ भनिरहनु भएको छ । राष्ट्रिय पूँजीको विकास कसरी गरिन्छ भन्ने कुरामा उहाँको प्रष्ट दृष्टिकोण छैन ।


ADVERTISEMENT

# # #


उहाँले जुन किसिमको कार्यशैली अपनाइरहनु भएको छ, त्यो बेठिक छ । हत्या, हिंसा र बन्दुकलाई साहारा लिएर राष्ट्रिय पूँजीको विकास गर्न सकिँदैन । राष्ट्रिय पूँजीपतिहरुको संरक्षण गर्ने, विकास गर्ने र मुलुकलाई समृद्ध बनाउने हाम्रो अहिलेको कार्यदिशा हो । राष्ट्रिय पूँजीको विकास गर्ने भन्नुहुन्छ, तर एनसेलको टावरमा बम हान्नुहुन्छ । एनसेलले कर तिरेन, बम हानेर ठिकै गर्यो भन्ने मान्छेलाई लाग्न सक्छ । तर साँचो कुरा के हो भने एनसेल विदेशी लगानीकर्ताले लगानी गरेको टेलिकम्युनिकेसन सेवा प्रदायक संस्था हो ।

त्यसमा बम पड्काइयो भने अरु अन्तर्राष्ट्रिय लगानीकर्ताहरुले लगानी गर्छन् ? कि विप्लवसंग त्यती पैसा छ ? हामीले त दुनियाँका पूजी र प्रविधि भित्र्याएर मुलुक बनाउने होला नि ! त्यसका लागि शान्ति महत्वपूर्ण छ । उद्योगभन्दा, कलकारखानालाई धम्काएर, तर्साएर चन्दा आतंक मच्चाउने उहाँको प्रवृत्ति ठिक होइन । समाजवादको कुरा गरिरहँदा अहिलेको वर्ग संघर्ष के हो भन्ने कुरा उहाँले थाहा पाउनु पर्छ । हामीले राजतन्त्र फालेपछि अहिले जनताको शासन छ । अहिले कोही जन्मिने बित्तिकै राजा हुने स्थिति छैन । सत्तामा रहेकालाई फेर्न सक्ने शक्ति जनतामा छ ।

राष्ट्रिय पूजीँको विकास र समाजवादको यात्रा तय गर्दैगर्दा शान्तिपूर्ण विधि अपनाउँदा सुखद हुन्छ । अन्तर्राष्ट्रिय परिस्थितको विश्लेषण नगरी बहकिएर भावुक क्रान्ति गर्नु राम्रो होइन । ठोस परिस्थितिको ठोस विश्लेषण मार्क्सवादको आधारवस्तु हो ।

समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर काम गरिरहँदा विगतको प्रणालीका प्रवृत्ति र कर्मचारीतन्त्रले सोचेअनुसारको प्रतिफल दिन सकियो, सकिएन छलफल हुन सक्ला । अवरोध हटाएर जान सकिन्छ । तर, अहिलेका प्रधानमन्त्रीसंग मुलुक बनाउने एउटा सपना छ । त्यसकारण अहिलेको वर्गसंघर्ष मुलुक निर्माण गर्नेमा कन्द्रित हुनुपर्छ ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई कसैबाट खतरा छ भने अहिले विप्लवबाट खतरा छ । नेपालको कम्युनिस्ट आन्दोलनको ध्वंश कोहीबाट हुन्छ भने विप्लवबाट हुन्छ । विप्लवबाट बचायौँ भने कम्युनिस्ट आन्दोलन अगाडी जानसक्छ । जनतालाई हप्काएर, धम्काएर होइन, माया गरेर यो आन्दोलनलाई अगाडी बढाउनुपर्छ ।

केही क्षणका लागि विप्लवको आन्दोलन ‘रोमान्टिक रिभोलुसन’ होला, तर यसले अन्ततगत्वा ज्ञानेन्द्रलाई फाइदा गर्छ । ज्ञानेन्द्रका तलुवा चाट्नेहरु अहिले तराईका मन्दिरहरुमा घण्टी हल्लाउँदैछन् । फेरि राजतन्त्र आउँछ भन्ने सपना देखिरहेका छन् । मन्दिर धाउँदैमा दिवंगत भइसकेको हजुरबुवालाई जिउँदो तुल्याउन सकिन्नँ । ज्ञानेन्द्र फर्किने भन्ने कुरा त्यस्तै हो । विप्लवले हत्या हिंसाको आन्दोलन रोकेनन् भने नेपालको कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षती हुन्छ ।

तर विप्लव प्रकरण समाधान; सरकारले जुन किसिमको कदम चालेको छ, के त्यो नै उपयुक्त थियो ? यसमा तपाईँकै नेताहरुले असन्तुष्टि जनाएका छन् नि ?

मान्छेले विप्लव माथिको प्रतिबन्धका रुपमा बुझे । तर यो हत्या, हिंसामाथिको प्रतिबन्ध हो । बन्दुकमाथिको प्रतिबन्ध हो । तपाई टावरमा बम हान्ने नाममा सर्वसाधारणलाई मार्दै हिंड्ने, धम्क्याउने कुरा, जनताका जनप्रतिनिधिहरुलाई शहर, गाउँबाट खेद्ने कुरा सह्य हुँदैन । यिनै प्रवृत्तिमाथिको प्रतिबन्ध हो । मान्छेमा भय, डर, त्रास फैलाएर महाविपत्ति सिर्जना गरेर छलाङ हान्ने शैली स्वीकार्य हुँदैन ।

अर्को प्रचण्ड बन्ने बाटो विप्लवले राज्नुभयो भन्ने कुरा आएको छ । स्वयम् प्रचण्ड जीवित हुनुहुन्छ भने विप्लव किन चाहियो ? सक्कली हुँदाहुँदै नक्कली किन चाहियो ? नेपालमा सँधै अस्थिरता मच्चियोस् भन्ने एउटा अन्तर्राष्ट्रिय ‘ग्रान्डडिजाइन’ छ । त्यसका एजेण्टका रुपमा विप्लवले आफूलाई लानू हुँदैन । त्यसकारण म विप्लवको समूहलाई म आग्रह गर्छु, वार्ताद्वारा समाधान खोजौँ ।

प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुस्, हामी पनि स्याबास् भनौँला । कहिँबाट परिचालित भएर कम्रेडले कि देश सिध्याउने कसम खाएको हो भने भन्नुपर्यो । होइन भने यसरी हत्या, हिंसा फलाउने काम बन्द गर्नुपर्छ । कतै कमजोरी छन् भने संगै सच्याउँ । त्यसका लागि यो बाटो त्याग्नुस् भनेर म तपाईँलाई आग्रह गर्छु । जनतालाई सुखी बनाउने कुरामा सोच्नुपर्छ नकि तपाईँ सत्तामा गएर देश कब्जा गर्नलाई ।

समृद्ध नेपालको निर्माण गरेर हर नेपालीको मुहारमा खुसी र सुख खोजौं । मान्छेमान्छे बीचको विभेदको अन्त्य कसरी गर्न सकिन्छ, आउनुहोस् छलफल गरौँ । कम्युनिस्ट आन्दोलनमा आफ्नो जीवन सुम्पिएका नेताहरुले देश बनाउने सपना देख्नु भएको छ । तपाई पनि हिजो प्रचण्डले नै हुर्काउनुभएको कार्यकर्ता ।

मुलुक बनाउने अभियानमा तपाईँ पनि जोडिनुस् । आफ्ना कमजोरीलाई छाडेर नयाँ ट्रयाकमा आउन आग्रह गर्छु । म ठोकुवाका साथ भन्छु तपाईले भनेको बाटोमा यो मुलुक जाँदैजाँदैन । कम्युनिस्ट भन्नेबित्तिकै धिक्कार्ने वातावरण बनाउने बाटो रोक्नुस् । अहिले सामन्तवाद छैन, कम्युनिस्टकै नेताहरु सत्तामा छन् । आउनुस् शान्तिपूर्ण यात्रा र बाटोबाट समस्या हल गरौँ । हाम्रो आग्रह नै यही हो ।

तर विप्वल पक्षबाट सरकारले नै युद्धको घोषणा गर्यो भन्ने रतिक्रिया आएको छ । के त्यस्तै हो ? देशलाई समृद्ध बनाउँदै जनतालाई सुखी बनाउन तिर पो लाग्ने भनिएको थियो होईन र ?

अहिले विप्लवकै कोर्टमा बल छ । एनसेलको टावरमा बम हानेको सरकारले कि विप्लवले ? अरुण तेस्रोमा बम हानेको सरकारले कि विप्लवले ? हत्या हिंसा छाडेमा मात्रै मुलुकको हित हुन्छ भन्ने विप्लव समूहले बुझ्नुपर्यो । निर्वाचन आयोगमा दर्ता नभएकाले राज्यका आँखाबाट उहाँहरु त एउटा समूह मात्रै हो । त्यसकारण मूलधारको राजनीतिमा देशको विकासमा हातेमालो गर्न म उहाँहरुलाई आग्रह गर्छु ।  यदि आउनुहुन्न भने देशले दुःख पाउँछ । नेपालको कम्युनिस्ट आन्दोलनको  खतरा तपाईँबाट छ । नेपालको राष्ट्रिय स्वाभिमान र समृद्धिको अभियानको खतरा तपाईँबाट छ । तपाईँ त्यो खतरा नबनिदिनुस् । सरकार त सँधै वार्ताका लागि तयार छ ।

यो मुलुक बन्दा तपाईँ पनि बन्ने हो तपाईंका कार्यकर्ता पनि बन्ने हुन् । वार्तामा आउनुहुन्छ भने सरकार रातो कार्पेट विच्छ्याउन तयार छ । हामी त्यसमा फूल पनि छरिदिउँला । फूलको यात्रा रोज्ने कि काँडाको निर्णय तपाईँको हातमा छ ।