भक्तपुर – यस वर्षको एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबारबाट हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाइएको हो ।


ADVERTISEMENT


परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको जानकारी दिएको छ । यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रक विष्णु अधिकारीले बताए ।


ADVERTISEMENT

# # #


कार्यालयका अनुसार यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार परीक्षा हुँदैछ । भोलिबाट शुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । यसवर्ष सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६ सय २ परीक्षार्थी सहभागी हुँदैछन् भने, सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी हुँदैछन् ।

प्रदेश नं १ बाट ८३ हजार ८ सय १८, प्रदेश नं २ बाट ७० हजार ५ सय १८, गण्डकी प्रदेशबाट ४८ हजार ६३ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । यसैगरी प्रदेश नं ५ बाट ७६ हजार ९ सय ८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल हुनेछन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जहाँ एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित हुनेछन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने बताए ।

परीक्षा व्यवस्थापनको सम्पूर्ण काम प्रदेश सरकारले गर्नेछ भने प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएकाले यसको जिम्मेवारी बोर्डले लिएको छ । परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् । गतवर्ष चार प्रकारका प्रश्न सोधिएको थियो ।

यस वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । परीक्षामा साधारणतर्फको अनिवार्य छ विषयका फरक–फरक प्रश्नपत्र बनाइएको र प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ ।