काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली युवा स्टार स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले मंगलबार डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दै छ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्लामा नेपाली समय अनुसार सवा ८ बजे सुरु  हुने खेलमा दुबै टिम जितको खोजीमा हुनेछन् ।


ADVERTISEMENT


चेन्नईले पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई र दिल्लीले मुम्बई इन्यिन्सलाई पराजित गरेको थियो । पहिलो खेलमा टिममा नपरेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आज महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नईविरुद्ध खेल्न पाउलान् ?


ADVERTISEMENT

# # #


तर पहिलो खेलमा सन्दीप मात्रै हैन आईपीएलकै चर्चित स्पिनर अमित मिश्र पनि टीममा परेका थिएनन् । यी दुई प्रतिभाशाली खेलाडीविनै मुम्बईमाथि जित हात पारेको दिल्लीले आजको खेलमा कमै मात्रमा खेलाडी परिवर्तन गर्ने सम्भावना छ ।

त्यसो त, सन्दीप प्लेइङ सेटमा पर्नका लागि निकै मेहनत गर्नुपर्ने हुन्छ । एक खेलमा चार जना विदेशी खेलाडीले मात्रै खेल्न पाउने हुदा सन्दीपको प्रतिस्पर्धा विश्व चर्चित खेलाडीहरुसँग छ ।

न्युजिल्यान्डका कोलिन मुनरो, ट्रेन्ट बोल्ट, दक्षिण अफ्रिकाका कोलिन इनग्राम, कागिसो रबडा, दक्षिण अफ्रिकाकै क्रिस मोरिस, वेष्ट इन्डिजका किमो पाउल र शेर्फन रुथरफोर्डसँग सन्दीप लामिछानेले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

इएसपीएन क्रिकइन्फोका अनुसार सम्भावित प्लेइङ ११

दिल्लीः

शिखर धवन, पृथ्वी श, श्रेयस ऐयर (कप्तान), कोलिन इनग्राम, रिशव पन्त, क्रिस मोरिस/किमो पाउल, अक्षर पटेल, राहुल टेवाटिया, कागिसो रबडा, ट्रेन्ट बोल्ट र इशान्त शर्मा

चेन्नईः

शेन वाटसन, अम्बती रयुडु, सुरेश रैना, केदार जाधव, महेन्द्रसिंह धोनी (कप्तान), डवायन ब्राभो, रविचन्द्र जडेजा, डेभिड विले, हरभर्जन सिंह/इमरान ताहिर, दीपक चाहर, शार्दुल ठाकुर