डोटी– दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका– ३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५ वर्षीय प्रेमबहादुर बिठाडी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले जानकारी दिए ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी घागलको गस्तीमा गएको संयुक्त प्रहरी टोलीले एक नाले भरुवा बन्दूकसहित जङ्गलमा घुमिरहेको अवस्थामा बिठाडीलाई पक्राउ गरेको हो । विनाइजाजतको हतियार बोकेकाले अभियुक्त बिठाडीलाई हातहतियार खरखजाना तथा विस्फोटक पदार्थ कसूरअन्तर्गत कारवाही हुने प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिए । अभियुक्त बिठाडीलाई अहिले प्रहरीले जिल्ला प्रहरी कार्यालय डोटीमा राखी बयान लिइरहेको छ ।


ADVERTISEMENT

# # #


एचआइभी सङ्क्रमितलाई सम्मान

एक गैरसरकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर जिल्लाका एचआइभी सङ्क्रमितलाई आज सम्मान गरेको छ । गुड नेवर्स इण्टरनेशनल नेपालका जिल्ला कार्यक्रम संयोजक रञ्जितकुमार चौधरीका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका एचआइभी सङ्क्रमित बालबालिकासहित २० जनालाई सम्मानका साथ फलफूल विततरण गरियो ।

दिपायल सिलगढी नगरपालिका वडा नं ६ का वडाध्यक्ष सन्तोष बोहरा र वडा नं ८ का वडाध्यक्ष रामबहादुर खड्का तथा स्वास्थ्य कार्यालयका प्रमुख डा।भूषण मिश्रले एचआइभी सङ्क्रमितका पक्षमा काम गर्न तयार रहेको बताए ।

कार्यक्रममा लालीगुँरास एकता समाजका अध्यक्ष कमला मल्लले सामाजिक रुपमा सहज जीवनयापनका लागि सङ्क्रमितलाई स्वास्थ्य र आयआर्जनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । जिल्ला अस्पतालमा रहेको तथ्याङ्कानुसार जिल्लामा कम्तीमा ९०६ जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको छ । तीमध्ये ५० बालबालिका मात्रै छन् । रासस