एजेन्सी – अर्जेन्टिनी टोलीका स्ट्राइकर गोन्जालो हिगुइनले अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्न्यास लिएका छन् । सन् २००९ देखि सिनियर टोलीमा खेल्दै खाएका ३१ वर्षीय हिगुइनले बिहीबार राति राष्ट्रिय टोलीबाट सन्यास लिएका हुन् ।


ADVERTISEMENT


इङ्लिस क्लब चेल्सीबाट व्यावसायिक खेल खेलिरहेका हिगुइनले क्लब फुटबलमा थप ध्यान दिन राष्ट्रिय टोलीबाट सन्यास लिनु परेको बताएका छन् । उनी यसै जनवरीमा युभेन्टसबाट लोनमा चेल्सी पुगेका थिए । उनले राष्ट्रिय टोलीबाट ७५ खेल खेल्दै ३१ गोल गरेका छन् । गत वर्षको रुस विश्वकपपछि उनले राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका थिएनन् ।


ADVERTISEMENT

# # #


‘म राष्ट्रिय टोली छाडेर केही समय परिवारसँग बिताउन चाहन्छु । देशका लागि मैले सकेको योगदान गरे । टोलीबाट खेल्न पाउनु नै मेरा लागि जीवनभर ठूलो कुरा हो । अब मेरो पूर्ण ध्यान चेल्सीमा केन्द्रीत हुनेछ । प्रिमियर लिग साँच्चै रमाइलो जहाँ म रम्न चाहन्छु,’ हिगुइनले भने ।

हिगुइनले अर्जेन्टिनाका लागि तीन वटा महत्पूर्ण प्रतियोगिताको फाइनल खेलेका थिए । उनले सन् २०१४ को विश्वकप फुटबल तथा सन् २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा प्रतिस्पर्धा गरेका थिए । तर, राष्ट्रिय टोलीबाट गरेको प्रदर्शनलाई लिएर उनी सधै आलोचित भए ।

सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीविरुद्ध नियमित ९० मिनेट समयमा गोल गर्ने अवसर चुकाउँदा अर्जेन्टिना जितबाट बन्चित भएको थियो । सन् २०१५ को कोपा अमेरिकाको फाइनलमा गोल गर्ने अवसर चुकाएपछि टाइब्रेकरमा पुगेको खेलमा हिगुइनले पेनाल्टी मिस गरेका थिए । त्यसबाट उनी झनै आलोचित भए । सन्यासको क्रममा उनले आफूले राष्ट्रिय टोलीबाट राम्रो खेल्ने प्रयास गरेको दोहोर्याए । ‘सबैले गल्ती देख्दा सफलता भने बिर्सन खोज्छन्,’ उनले भने, ‘जब कुनै खेलाडीको आलोचना हुन्छ । त्यसले उसको परिवारलाई पनि असर गर्छ । राष्ट्रिय टोलीबाट खेल्दा सबै खेलाडीले सक्दो प्रयास गरेकै हुन्छ ।’