काठमाडौं – राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुवै पार्टीबीच एकता भएको घोषणा गरिएको हो ।


ADVERTISEMENT


एकतासँगै पार्टीको नाम राष्ट्रिय जनमुक्ति पार्टी नै रहनेछ । पार्टीको अध्यक्ष केपी पालुङवा रहनेछन् । अध्यक्ष पालुङवाले आफूहरु मुलुकको तेस्रो धार भएको भन्दै आगामी दिनमा विचार मिल्ने दलहरुसँग एकता गर्ने जनाए । उनले भने, ‘विचार मिल्नेहरुसँग एकता गर्दै मुलुकको पहिलो शक्ति बन्ने हाम्रो योजना छ ।’


ADVERTISEMENT

# # #


जनताका गुनासाहरुलाई लोकतान्त्रिक विधिबाट हल गर्ने राजनीतिक शक्ति र नेतृत्वको आवश्यकत्ता खट्किएकोले दुई पार्टीबीच एकता भएको अध्यक्ष पालुङवाले स्पष्ट पारे । जारी विज्ञप्तीमा भनिएको छ, ‘मुलुकको वैकल्पिक शक्ति निर्माणको महान उद्देश्यसहित बहुजातीय लोकतन्त्र, समाजवाद र राष्ट्रियताको सिद्धान्तलाई मियो बनाएर नैतिक इमान्दारिता सहितको राजनीतिक संस्कृति कायम गर्दै समृद्ध नेपाल निर्माण गर्न राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकीकरण भएको घोषणाको जानकारी दिन चाहन्छौ ।’

कार्यक्रममा पार्टीका नेता मेखराज परियार (खाती) ले पार्टीले पूर्ण समानुपातिक प्रतिनिधित्व, लोकतन्त्र, समानता र समाजवादको लक्ष्य लिएको सुनाए । त्यस्तै, बहुजातीय लोकतान्त्रिक समाजवादलाई मूल लक्ष्य बनाईने उनको भनाई छ ।

कार्यक्रममा पार्टीका बरिष्ठ नेता डिके बुद्धिष्ट, अर्का नेता यामबहादुर बुढाथोकी र केन्द्रिय सदस्य निर्मल मग्रातीलगायतले पार्टीको भावी योजना र समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।

ठूला सत्ताधारी दलहरूले बहुलतालाई नकारी एकल नश्लीय सोचमा देशलाई अशान्तितर्फ धकेल्ने चेष्टा गरिरहेको पनि उक्त पार्टीले आरोप लगाएको छ । सत्तासीन दलहरूमा मुलुक निर्माण गर्ने दक्षता र आचरण दुवै नभएको पनि उसले आरोप लगाएको छ ।