– अनुपमा खुञ्जेली, प्रमुख कार्यकारी अधिकृत (सीईओ), मेगा बैँक नेपाल लिमिटेड

बैँकको ईतिहाँसमा नेपालको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नुभएको छ । कस्तो अनुभव भइरहेको छ ?


ADVERTISEMENT


खासगरी मैले यसलाई दुई किसिमले लिएकी छु । एउटा, हाम्रो बोर्डले एउटा महिलालाई निर्णय निर्माणको स्थानमा पुर्याउनु भएको छ । अर्को, मसंग चुनौति पनि छ । आगामी चार वर्ष मैले राम्रो गर्न सकें भने भोलिका दिनमा अरु महिलाहरुका लागि पनि बाटो खुल्छ भन्ने मलाई लाग्छ ।


ADVERTISEMENT

# # #


जिम्मेवारी कुन गतिमा बढिरहेको छ त ?

बैँक भनेको सर्वसाधारणको पैसा लिएर त्यसलाई परिचालन गर्ने वा लगानी गर्ने संस्था हो । बैँकमा आर्थिक सूचकांकले महत्व राख्छ । मैले जति राम्रो गरेको छु भनेपनि यदि आर्थिक सूचकांक राम्रो छैन भने त्यो काम लाग्दैन । आर्थिक सूचकांकलाई ध्यान दिइरहेकी छु । हाम्रो बैँक अहिले नौ वर्षको भएको छ ।

हामी ‘सेकेण्ड लार्जेस्ट क्यापिटालाइज्ड बैँक’ बन्न सफल भएका छौँ ।

साढे १० अर्बको पूँजी हामीले जोडिसकेका छौँ । यो हाम्रो शेयर होल्डरहरुको विश्वास हो बैँकप्रतिको । हामीसंग ३ हजार प्रोमोटर्स र २ लाखबढी शेयर होल्डरहरु हुनुहुन्छ । पहिलेदेखि नै हाम्रो भिजन फरक छ ।

हलोदेखि हाइड्रोसम्मका क्षेत्रलाई सहयोग गर्छौं, बैँकको पहुँचबाट टाढा रहेकालाई बैँकको पहुँचमा ल्याउँछौ, गाउँगाउँमा गएर बैँकिङ साक्षरतालाई बढाउँछौँ भनेर हामी आएका हौँ । सर्वसाधारणको पैसाले बनेको बैँक हो यो ।

आजका दिनमा मेगा बैँकको १ सय २ शाखाहरु, १९ वटा एक्सटेन्सन काउन्टर, २ हजारभन्दा बढी एजेन्टहरु छन् । हामी गाउँगाउँमा पुगेका छौँ ।

हाम्रो ‘ग्रोथ’को कुरा गर्दा मैँले नेतृत्व लिइसकेपछि यो वर्ष हामी बजारमा दोस्रो छौँ । नाफामा पनि हामीले छलाङ मारेका छौँ । यी सबै सूचकांक र हाम्रो एमपीए (रिस्क कस्तो त यो बैँकको) कस्तो छ भनेर हेर्दा एक प्रतिशतको हाराहारीमा रहेको छ । यी सबै कुराहरु हेर्दा बैँकले राम्रो गरिरहेको देखिन्छ ।

यो हाम्रो मर्जरको वर्ष पनि हो । मर्जरपछिको यो वर्षलाई हामीले ह्युमन क्यापिटल मर्जरका रुपमा लिएका छौँ । विभिन्न संस्कृतिबाट आएकाहरुलाई एउटै भिजनमा दौडाउनु पर्छ ।

बैँकलाई सबैको सहज पहुँचसहित अझ गुणस्तरीय सेवा प्रदान गर्न चाहिँ के कस्ता सूत्रहरु लगाईरहनु भएको छ नि ?

बैँकको नेतृत्वको एउटा राम्रो गुण भनेको आफुसंग भएको जनशक्तिलाई आफ्नो बैँकको भिजनमा लिएर दौडिनु हो । त्यसका लागि खुसी कर्मचारीहरु हुनुपर्छ । सबैभन्दा ठूलो पूँजी भनेको हाम्रो जनशक्ति हो । यदि हामीले उहाँहरुलाई खुसी राख्न सक्छौँ भने परिणाम पनि राम्रो आउँछ । हामी त्यही अनुसार बढिरहेका छौँ र आगामी दिनमा पनि मेगा बैँकले तय गरेका लक्ष्यहरु पूरा गर्ने नै छौँ ।

अहिले बैँकिङ क्षेत्रमा ‘डिजिटलाईजेसन’ भन्ने कुरा आइसकेको छ । मेगा बैँकको प्रोडक्टमा ‘भिसा डेविट कार्ड’, मोबाइल बैँकिङको सेवा सुरु भएको छ । हामीले अनलाइनबाटै खाता खोल्न सकिने बनाएका छौँ । प्रोडक्ट र सर्भिसेजमा हेर्ने हो भने ‘डिपोजिट’का प्रोडक्टहरु हाम्रो ‘योङ’ र ‘वल्ड पिपुल’लाई फोकस गरिएका छन् । ‘लेण्डिङ’का प्रोडक्टहरु हेर्ने हो भने हामीले माइक्रो बैकिङदेखि लिएर एसएमई बैकिङ, रिटेल बैँकिङ, मिट कर्पोरेट बैँकिङ सबैलाई छोएका छौँ । त्यसैले म यो बिश्वास गर्छु की, ‘प्रोडक्टस् एण्ड सर्भिसेज’मा हामीले बैँकभित्रै ‘रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर’ राखेका छौँ, यो अन्य बैँकसंग छैन ।

यसले बैकलाई के सेवा दिन्छ ?

यो रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बैकिङ क्षेत्र कसरी गइरहेको छ भन्ने कुुराको रिपोर्ट दिन्छ । एउटा हामीले सेन्टर खोलेका छौँ । जसले नयाँ प्रोडक्ट र सेवाहरुको विकास गर्छ । मेगा बैँकमा आउने कुनैपनि ग्राहकहरु खुसी भएर जानुपर्छ भन्ने हाम्रो मान्यता हो । हामीले प्रत्येक शाखाहरुमा ‘कस्टमर केयर’ अफिसहरु राखेका छौँ । जसले बैँकमा आएका ग्राहकहरुलाई सहयोग गर्ने काम गर्छन् ।

भर्खरै लगानी सम्मेलन पनि सम्पन्न भएको छ । देशमा विकास र समृद्धिका लागि बैँकको पनि अहम् भूमिका हुन्छ नै । यस्का लागि चाहिँ कस्तो वातावरण आवश्यक पर्छ ?

राजनीतिक स्थायित्व आइसकेकाले अब आर्थिक एजेण्डातर्फ देश जानुपर्छ भनेर हामी भनिरहेका छौँ । त्यसैका लागि यो लगानी सम्मेलन भएको हो । म के भन्न चाहन्छु भने हाम्रो देशमा ‘सोभरियन्ट रेटिङ’ छैन । बाहिरको लगानीकर्ताले देशको जोखिम के हो भन्ने कुरा जान्नुपर्छ । जोखिम के हो भन्ने कुरा जानिसकेपछि उनीहरुले यो देशमा कति लगानी गर्न उचित हुन्छ भनेर तय गर्ने हो । त्यसकारण हामीले तत्काल यसमा काम गर्नुपर्छ । अहिले ऋणको माग एकदमै धेरै बढेको छ । हाम्रा स्थानीय लगानीकर्ताको हौसला बढेको छ । अब देशमा विकास गर्नुपर्ने बेला आयो भनेर उहाँहरुले बुझ्नुभएको छ । तर, योसंगसंगै हामीले ‘रिसोर्स कलेक्सन’ कठिन देखिरहेका छौँ ।

बैँकको अहिलेको प्रमुख चुनौति भनेकै डिपोजिट कलेक्सन हो । डिमाण्ड बढेसंगै रिसोर्सेस वृद्धि गर्नुपर्छ । त्यसका लागि ढोकाहरु खोल्नुपर्छ ।

त्यसैले हामीले अहिले एफडीआइ (फरेन डाइरेक्ट इन्भेस्ट)का कुराहरु गरिरहेका छौँ । स्वदेशी लगानीले नधानेपछि हामी विदेशी लगानीको कुरा गरिरहेका छौँ । अर्थतन्त्र वृद्धिका लागि बैकिङ क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । अहिले गाउँगाउँमा बैँक गएसंगै त्यहाँ डिपोजिटको दरपनि एकदमै बढेको हामीले पाएका छौँ । त्यसकारण आगामी दिनहरु पनि राम्रै होलान् जस्तो लाग्छ मलाई ।

तपाई आम महिलाहरुको एक किसिमले रोल मोडल हुनुहुन्छ । तर, देशमा अधिकांश महिलाको समग्र अवस्था अझै माथि उठ्न सकेको छैन । के भन्नुहुन्छ ?

नेपालमा ९ लाख २२ हजार फर्महरु दर्ता भएका छन् । त्यसमध्ये १४ प्रतिशत मात्र महिला उद्यमीले सुरु गरेका फर्महरु छन् । यस्तै महिलाका नाममा सम्पत्ति जम्मा १० प्रतिशतमात्रै रहेको छ । यसले पनि बताउँछ कि हामी कहाँ गइरहेका छौँ ! अब यो कुरामा परिवर्तन गर्ने बेला हो । बैँकले पनि उत्पादनशील सेवाहरु ल्याएर महिला उद्यमीहरुलाई बैँकसंग जोड्नुपर्ने छ ।

महिलालाई हामी आधा आकाश भन्छौँ । महिलाको प्रगती नभई आर्थिक समृद्धि हासिल हुन सक्दैन जस्तो लाग्छ । अहिले विश्वमा लैंगिक समानतामा ३२ प्रतिशत अन्तर छ भनिन्छ । त्यसलाई शून्यमा झार्नका लागि अहिले हामी जुनगतिमा गइरहेका छौँ त्यसले अर्को १०८ वर्ष लाग्छ भन्ने छ । भनेपछि नेपाल त कहाँ छ होला ! तर नेपालमा अहिले महिला मैत्री कानुनहरु बनेका छन् । त्यसकारण यसमा प्रगती भइरहेको छ ।

अब महिला उद्यमीले पनि आफ्नो ‘कम्फर्टजोन’ भन्दा बाहिर निस्किनुपर्ने अवस्था छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा हामी साना उद्यममा मात्रै संकुचित छौँ । अब उच्च सोच राख्नुपर्छ ।

निर्णय निर्माणका क्षेत्रमा पनि महिलाहरु हुनुपर्छ । हामी हेर्नसक्छौँ, ‘टप बिजनेस हाउस’हरु छोराले नै अगाडि बढाएका हुन्छन् । छोरी–बुहारीहरु खोइ त त्यो पोजिसनमा ?

त्यसकारण यी सबै बिषयहरुमा हाम्रो सोच परिवर्तन हुनु जरुरी छ ।

आफ्नो कार्यकालमा मेगा बैँकलाई कहाँसम्म पुर्याउने योजना के बनाउनु भएको छ ?

हामीले आगामी पाँचवर्षको योजना कोरिसकेका छौँ । त्यो पाँचवर्षको रणनीतिक योजनामा अहिलेको ‘लेण्डिङ’को भोलुम, ‘डिपोजिट’को भोलुमलाई ठ्याक्कै दोब्बर गर्ने भनेका छौँ । हाम्रो नाफालाई करिब तीन अर्ब पुर्याउने भनेर निश्चय गरिसकेका छौँ । अब यो भिजनलाई हामीले पूरा गर्दै जाने हो । मलाई लाग्छ हामी हाम्रो लक्ष्यमा पुग्नेछौँ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

हाम्रो देशमा आर्थिक समृद्धिका सम्भावनाहरु आउँदैछन् । राजनीतिक स्थायित्व पाइसकेका बेला हाम्रो हौसला बढ्नुपर्छ । सरकारको भर परेर मात्रै हुँदैन ।

समृद्ध नेपालको परिकल्पनालाई पूरा गर्नकालागि प्रत्येक नेपालीको योगदान आवश्यक छ । त्यसकारण म भन्छु, हामी अब एक्सनमा जाउँ ।

अर्कोकुरा, एक पटक मेगा बैँकका सेवाहरु आएर हेरिदिनुहोला । देखिएका त्रुटीहरु औँल्याइदिनुहोला । त्यसले हामीलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न सहयोग गर्नेछ । तपाईहरुको विश्वास जित्दै मेगा बैँक देश समृद्धि र जनताको खुसीका लागि अगाडि बढ्दै जानेछ । सबैमा ‘मेगा नमस्ते !’