काठमाडौँ– विगतमा अनाधिकृतरुपमा विद्युत्भार कटौती गर्ने पुनःसल्बलाएको नेपाल विद्युत् प्राधिकरणले टिप्पणी गरेको छ । प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफुमाथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफल बनाउन सकिन्छ कि भन्ने मनसाय राखिएको बताए ।


ADVERTISEMENT


उपभोक्तालाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण सक्रिय रहेको भन्दै उनले हुँदै नभएका विषयमा अफवाह फैलाएर प्राधिकरणको नेतृत्वलाई असफल बनाउने सोच कोही कसैले राखेको भए त्यो पूरा हुन नदिने समेत उनले स्पष्ट पारे । प्राधिकरणका हरेक काम कारवाही स्पष्ट र पारदर्शी रहेको उल्लेख गर्दै उनले पछिल्लो दुई वर्षदेखि संस्था नाफामा गएको, मुलुकभर विद्युत् सेवा पुगेका स्थानमा विद्युत्भार कटौतीको अन्त्य भएको विषयलाई नजरअन्दाज गर्न नहुने बताए ।


ADVERTISEMENT

# # #


प्राधिकरणको नेतृत्वको हिसाबले आफूले नियमानुसार पाउने भत्ता तथा अन्य सुविधा मात्रै लिएको भन्दै कार्यकारी निर्देशक घिसिङले तथ्य नै नबुझी गलत प्रचार गर्नेप्रति रोष प्रकट गरे । प्राधिकरणलाई सबल, सक्षम बनाउने लक्ष्यका साथ आफू प्रयासरत रहेको भन्दै उनले नियमितरुपमा सबल र विश्वसनीय विद्युत् सेवा उपलब्ध गराउने प्रतिबद्धताबाट विचलित नहुने उल्लेख गरे।

प्राधिकरणमा कार्यरत कर्मचारीको साझा ट्रेड  युनियनको निर्वाचन गराउन प्राधिकरणको व्यवस्थापन प्रयासरत रहेको भन्दै सञ्चालक समितिको बैठकमा आमन्त्रित रहेका व्यक्तिले प्राधिकरणको मर्यादामा आँच पुग्ने गरी प्रचार गर्दै हिँडेकामा समेत उनले आपत्ति जनाए । ‘प्राधिकरण प्रणालीमा चल्छ, विगतमा जस्तो कमाइ खाने भाँडो बनाउन दिइँदैन, यो नेपाली जनताको सम्पत्ति हो, यसको आफ्नै पदसोपान रहेको छ, त्यसविरुद्ध जाने जो कोहीलाई पनि कारवाही हुन्छ, आधिकारिक ट्रेड युनियनका नाममा गलत गर्दै हिँड्ने माथि स्पष्टीकरण सोधिएको छ, त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याइन्छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

विगतमा प्राधिकरणको व्यवस्थापनसँग मिलेर विद्युत् कटौती गर्ने, नागरिकलाई अँध्यारोमा राख्ने नै पुनःसल्बलाउन खोजेको भन्दै उनले त्यस्ता प्रवृत्तिलाई पाखा लगाउन प्राधिकरणका ग्राहक तथा सञ्चारकर्मीको सहयोगको अपेक्षा राखे ।रासस