काठमाडौँ – मलेसियामा आजदेखि सुरु भएको यू–१९ विश्वकप एसिया छनोट क्रिकेटमा सिंगापुरसामू नेपालले २८३ रनको चुनौति पेश गरेको छ । कप्तान रोहित पौडेलले कप्तानी इनिङ खेलेसंगै नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै २८२ रनको विशाल स्कोर खडा गरेको हो ।
क्वालालम्पुरस्थित सिलेंगर टर्फ क्लब मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालका लागि रोहितले इनिङ उकासे । उनी शतक बनाउनबाट ५ रनले चुके । उनी ९५ रन बनाएर आउट भएका हुन् । यसक्रममा उनले १०५ बलमा ७ चौका र एक छक्का ठोके ।
तेस्रो नम्बरमा ब्याटिङमा आएका उनले तेस्रो विकेटका लागि पवन सर्राफसंग ९० रनको साझेदारी गरे । पवन ५३ बलमा ४७ रन बनाएर आउट भए । उनी तीन रनले अर्धशतक बनाउनबाट चुके ।
शतक बनाउन ५ रनले चुके कप्तान रोहित पौडेल, सिंगापुरविरुद्ध शानदार ब्याटिङ
यस्तै भीम सार्कीसंग पाँचौ विकेटका लागि ३९ रनको साझेदारी गरेका रोहितले सातौँ विकेटका लागि राशिद खानसंग महत्वपूर्ण ७५ रनको साझेदारी गरे । राशिद खानले ४७ बलमा ४८ रन बनाए । यसक्रममा उनले ४ चौका र दुई छक्का प्रहार गरे ।
कमलसिंह ऐरीले १८ बलमा ३१ रन जोडे । उनले ३ छक्का र चौका प्रहार गरे ।
सिंगापुरका लागि अथर्व गुनेले सर्वाधिक चार विकेट लिएका छन् । यसैगरी राउल शर्माले २, विनित मेहताले २ र प्रमेश सांघवीले एक विकेट लिए । नेपालले एक विकेट रन आउटका रुपमा गुमाएको थियो ।