किभ – युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।


ADVERTISEMENT


राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय हास्य कलाकार जेलेन्स्कीले ७३.२ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । निर्वाचन आयोगका अनुसार पोरोशेन्कोले २४.४ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । यद्यपी करिब १५ प्रतिशत मतगणना हुन बाँकी छ ।


ADVERTISEMENT

# # #


चुनावमा राष्ट्रपति पेट्रो पोरोशेन्को र हास्य कलाकार भोलोडिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने पछिल्ला जनमत सर्वेक्षणमा देखिएको थियो ।

यसअघि सम्पन्न पहिलो चरणको चुनावमा वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध जेलेन्स्की र पूर्व प्रधानमन्त्री युलिया टिमोशेन्कोले कडा चुनौती दिएका थिए । कलाकार जेलेन्स्कीले राष्ट्रपति पेट्रो पोरोशेन्कोको भन्दा दोब्बर मत प्राप्त गरेका थिए तर निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत प्राप्त गरेका थिएनन् ।

युक्रेनी चुनाव आयोगका अनुसार पहिलो चरणमा जेलेन्स्कीले ३०.२ प्रतिशत र पोरोशेन्कोले १६.७ प्रतिशत मात्र मत प्राप्त गरेका थिए भने पूर्व प्रधानमन्त्री युलियाले १३.०८ प्रतिशत मत प्राप्त गरेका थिए ।

करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका थिए । पछिल्ला वर्षहरुमा भ्रष्टाचार, अर्थतन्त्रमा छाएको मन्दी तथा पूर्वी भेगमा रुसी समर्थनमा भइरहेको सशस्त्र सङ्घर्षबाट युक्रेन आक्रान्त छ ।

युक्रेनको संविधान अनुसार पहिलो चरणको चुनावमा कुनै उम्मेदवारले पूर्ण बहुमत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच दोस्रो चरणको चुनाव हुन्छ ।

चुनावी मतपरिणामबाट विजयी हुने सुनिश्चित भएसँगै जेलेन्स्कीले आफ्ना समर्थकहरुलाई राजधानी किभमा सम्बोधन गर्दै आफूले युक्रेनी जनताको भावनामा कहिल्यै कुठाराघात नगर्ने बताएका थिए ।

जेलेन्स्कीको विजयप्रति युरोपेली युनियन, नेटो, फ्रान्स, अमेरिका समेतका संस्था एवं सरकारबाट खुशी व्यक्त गर्दै युक्रेनको स्थायित्व र विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

चुनाव पछिको मतसर्वेक्षणमा युद्धरत एवं अशान्त पूर्वी क्षेत्रबाट भारी मत प्राप्त गरेका जेलेन्स्कीले राष्ट्रपति पोरोशेन्कोको पकड क्षेत्रबाट पनि बढी मत प्राप्त गर्ने देखाइएको थियो ।

पराजित राष्ट्रपति पोरोशेन्कोले आफ्नो हार भएको स्वीकार्दै विजयी जेलेन्स्कीलाई बधाई दिएका छन् । उनले पछिल्लो नतिजाबाट रुस खुशी भएको हुनसक्ने भन्दै युक्रेनले पश्चिमा राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिए ।

विश्लेषकहरुले नवनिर्वाचित राष्ट्रपति जेलेन्स्कीले रुससँगको सम्बन्धलाई पुनः परिभाषित गर्ने अनुमान गरेका छन् । मस्कोले युक्रेनी जनताले परिवर्तन चाहेको देखिएको जनाएको छ । एजेन्सी