काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहालले एमाले र माओवादीबीच पार्टी एकता रोक्नका लागि विभिन्न प्रयासहरु भएको बताएका छन् ।


ADVERTISEMENT


कम्युनिस्ट पार्टीको ७० औँ वार्षिक उत्सवका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनपछि पार्टी एकता रोक्नका लागि विभिन्न देशी तथा विदेशी शक्तिबाट कसरत भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘सानो विवेक र संकल्पले यो एकता सम्भव भएको होइन । हामीले निर्वाचन सकिसकेपछि पनि यो एकता रोक्नका लागि धेरै किसिमका कसरत नेपालभित्र भए र नेपाल बाहिर पनि भए ।’ उनले भने, ‘तर, हामीले नेपाली जनताको अगाडि जे संकल्प गर्योँ, जे प्रतिवद्धता व्यक्त गर्यौँ, त्यसमा विल्कुल पछाडि नपरेर आफ्नो मिसनअनुसार पार्टी एकता गरेर एउटा नयाँ इतिहास खडा गर्यौँ ।’

अवरोधका बाबजुत पनि आफूहरुले पार्टी एकता गरेर कम्युनिस्टहरु जे भन्छन् त्यही गरेर देखाउँछन् भन्ने नयाँ उदाहरण प्रस्तुत गरेको प्रचण्डको भनाइ थियो । उनले पार्टी एकतापछि बाँकी रहेको तल्लो तहको एकताको विषय पनि टुंग्याएर एउटा मूल गाँठो फुकाएको उनले बताए ।

जिल्ला कमिटिको नेतृत्व चयन गरेर पार्टी एकताको फलामे ढोका फोरेर एकता प्रक्रिया अगाडि बढेको उनले बताए । ‘जिल्ला कमिटिको नेतृत्व चयन गर्ने कुरा फलामे ढोका जत्तिकै थियो । किनकी गाँठो हाम्रौ त्यहीँ परेको थियो ।’ उनले भने, ‘अब मुख्य गाँठो फुकिसकेपछि अरु सजिलै फुक्ने वातावरण आज तयार भएको छ ।’ उनले केही ढिलो भएपनि अन्ततः पार्टी एकताको मिसन पूरा गरेको दाबी गरे ।

पार्टी एकता टुंग्याउन विभिन्न कार्यदल बनाए पनि गाँठो झन् कस्सिदै गएको भन्दै पछि पुरानै ठाउँमा फर्किएर एकता प्रक्रिया पूरा गरेको प्रचण्डले बताए ।