काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौका सडकमा भएका खाल्डाखुल्डी १५ दिन भित्र पुर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


सडक, खानेपानी, विद्युत आयोजना लगायत सरोकारवाला निकायका मन्त्री, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई आज बोलाएर प्रधानमन्त्री देउवाले सडकका खाल्डाखुल्डी तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


उपत्यकाभित्रका सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिँदै प्रधानमन्त्री देउवाले त्यसको लागि थप बजेट चाहिए उपलब्ध गराउन सरकार तयार रहेको बताए । उनले सरोकारवाला निकायका प्रमुखहरुलाई तत्काल फिल्डमा खटिएर अनुगमन गर्न पनि निर्देशन दिए । राजधानीका सडकमा रहेका खाल्डाखुल्डीमा पानी जमेर पछिल्लो समय दुर्घटना बढ्दै जाँदा प्रधानमन्त्रीले यसबारे चासो व्यक्त गरेका हुन् । काठमाडौं उपत्यकाको एकीकृत विकास आयोजनाको प्रस्ताव तयार गर्न समेत उनले निर्देशन दिएका छन् ।

गत शुक्रबार राजधानीको नेपालटारमा ढलले बगाउँदा कक्षा ३ मा अध्ययनरत विनिता फुयाँलको मृत्यु भएको थियो भने सामखुशीमा स्कुले बालिका सत्या सापकोटालाई ढलले बगाएपनि स्थानीयले सकुशल उद्धार गरेका थिए ।