काठमाडौँ – मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा)ले आफ्नो महाधिवेशन आगामी कात्तिकमा गर्ने भएको छ । गत आइतबारदेखि शरदसिंह भण्डारीको अध्यक्षतामा बसेको राजपा पदाधिकारी बैठकले महाधिवेशन कात्तिक २८, २९ र ३० गते गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


यस्तै बैठकले महाधिवेशनको तयारीका लागि महन्थ ठाकुरको नेतृत्वमा सबै पदाधिकारी सम्मिलित महाधिवेशन तयारी समिति गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै राजपाले लक्ष्मणलाल कर्णको संयोजकत्वमा सवेन्द्र शुक्ल, मानध्वज ब्लोन तामाङ, मालामती राणा थारु, राजकुमार थापा, केशव झा, रामलाल सुतिहार, हरेन्द्र यादव र अकवाल अहमद सम्मिलित विधान मस्यौदा समिति गठन गरेको छ ।

पार्टीले भातृ संगठनलाई तत्काल समायोजन गरी पूर्णता दिने निर्णय गरेको राजपा अध्यक्ष शरदसिंह भण्डारीले बताएका छन् ।

सरकारविरुद्ध राष्ट्रव्यापी आन्दोलन

राजपाले विभिन्न माग राख्दै राष्ट्रव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।

रेशम चौधरीलाई रिहाई गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, थरुहट आन्दोलनका आन्दोलनकारीलाई लगाइएको सार्वजनिक मुद्दा फिर्ता लिनुपर्ने राजपाको माग छ ।

महंगी, भ्रष्टाचार अन्त्य गर्दै बलात्कारीहरुलाई तत्काल कारबाही गर्नुपर्ने, नेपालगञ्ज घटना छानबिन गर्न बनेको पराजुली आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने राजपाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।