काठमाडौँ – नेपालले बेलायतको राजधानी लण्डनमा आयोजना हुने ‘स्ट्रीट चाइल्ड विश्वकप क्रिकेट प्रतियोगिता’ खेल्ने भएको छ ।


ADVERTISEMENT


यही वैशाख १८ देखि २५ गतेसम्म हुने उक्त विश्वकपमा नेपालसहित भारत, बङ्गलादेश, मरिसस, ताञ्जानिया, वेष्टइन्डिज, जिम्बाबे, कङ्गो, बेलायतलगायतको सहभागिता रहनेछ । ‘चाइल्ड रिच नेपाल र स्ट्रीट वाल नेपाल’को समन्वयमा हुने सो प्रतियोगितामा नेपालबाट चार महिला र चार पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ट्रीट वाल नेपालका कार्यक्रम व्यवस्थापक छितिज बस्नेतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सहभागी खेलाडीमा महिलातर्फ निशा राई, रुपा श्रेष्ठ, सङ्गीता थापामगर र रिता गौतम तथा पुरुषतर्फ सन्देश सुनार, सन्देश छतकुली, रवीन्द्र गुरुङ र विनोद परियार छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र कलाकार हरिवंश आचार्यले टोलीलाई सफलताको शुभकामना दिए । उनीहरुले उक्त प्रतियोगितामा पाएको अवसरलाई सदुपयोग गर्न खेलाडीलाई आग्रह गरे ।

स्ट्रीट वाल नेपालका कार्यक्रम व्यवस्थापक बस्नेतले विश्वकपमा नेपालले फाइनलसम्मको यात्रा तय गर्ने विश्वास व्यक्त गरे । उक्त प्रतियोगिताका लागि नेपाली टोलीले दुई महीना अभ्यास गरेको थियो । आठ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली यही वैशाख १७ गते लण्डन प्रस्थान गर्नेछ ।रासस