धादिङ – धादिङको गल्छी नगरपालिका–४ बेल्खु पृथ्वीलोकमार्गमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा मोटरसाइकलमा सवार काठमाडौं चन्द्रागिरी नगरपालिका–गुर्जुधारा बस्ने वर्ष २९ को राज महर्जन र चन्द्रागिरी नगरपालिका–१२ बस्ने वर्ष ३० को कवि कुमार महर्जन रहेका छन् ।


ADVERTISEMENT

# # #


काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा४ख ५१०३ नम्बरको माइक्रो र गजुरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा९७प २५३८ नम्बरको मोटरसाइलक एक आपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख (इन्सपेक्टर) नवराज ढुंगेलले जानकारी दिए ।

माइक्रोको ठक्करबाट उछिट्टिएका मोटरसाइकलमा सवार दुवै जना सोही दिशातर्फ जाँदै गरेको ना६ख ५६१४ नम्बरको ट्रकको चक्कामा पुगेको र ट्रकको चक्काले किच्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको ढुंगेलले बताए ।

ट्रक चालक धादिङ घर भएका वर्ष ३५ का राजु अर्याल र माइक्रो चालक नवलपरासी अरुणखोला नगरपालिका–१३ बस्ने वर्ष ३७ का धन बहादुर चौधरी लाई प्रहरीले नियन्त्रणमा लिएको इन्सपेक्टर ढुंगेलले बताए ।

अर्यालले चौतारी यातायात चलाउँथे भने चौधरीले लुम्बिनी रुद्र यातायात चलाउँथे । नियन्त्रणमा रहेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।