बारा । नेपाली सेनाले हावाहुरीसहितको असिनापानी र चक्रपातबाट क्षति भएका बारा र पर्साका विभिन्न स्थानमा एकैसाथ जनता आवास पुनःनिर्माणको काम शुरु गरेको छ ।


ADVERTISEMENT


उक्त पुनःनिर्माण कार्यक्रमको आज १२ स्थानमा एकैसाथ शिलान्यास गरिएको हो।


ADVERTISEMENT

# # #


उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बाराको फेटा गाउँपालिका–६ पुरैनियाँ, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले महागढीमाई–७ तेलगाई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुवर्ण गाउँपालिका–४ हर्दिया तथा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पचरौता नगरपालिका–७ बेनौलीमा पुगेर जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुने निजी आवास भवनको शिलान्यास गरेका हुन्।

उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले परवानीपुर–४ चैनपुर, गृहमन्त्री रामबहादुर थापाले प्रसौनी गाउँपालिका–४ खटुवाजग्दी, शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले फेटा गाउँपालिका–४ भरबलिया, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले भलुहीमा आयोजित समारोहमा निर्माण गर्न लागेका जनता आवासको शिलान्यास गरे।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पर्साको वीरगञ्ज महानगरपालिका–२२ जगनाथपुर र सोही नगरपालिका–५ उदयपुर घुर्मीमा खानेपानीमन्त्री बीना मगरले जनता आवास कार्यक्रमको शिलान्यास गरेका हुन्।

त्यसैगरी, प्रदेश नं–२ का मुख्यमन्त्री लालबाबु राउतले कलैया उपमहानगरपालिका– १३ छोट्की फुलबरिया र देवताल गाउँपालिका–७ रामपूर्वा पुगेर घर निर्माण कार्यको शिलान्यास गरेका हुन्।

उक्त कार्यक्रम अन्तर्गत नेपाली सेनाले बारामा एक हजार ३६२ तथा पर्सामा ९१ घर निर्माण गरी साउनसम्ममा हस्तान्तरण गर्ने जनाएको छ। उक्त कार्यक्रमका लागि सरकारले नेपाली सेनालाई ७९ करोड उपलब्ध गराउने छ। जनता आवास अन्तर्गत बन्ने तीन कोठे भवन निर्माण लागत प्रति घर रु पाँच लाख ४५ हजार खर्च हुने अनुमान गरिएको छ। सो कार्यका लागि नेपाली सेनाका प्राविधिकसहित तीन हजार सैनिक खटिने छन् ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले सरकारले प्राथमिकताका साथ बारा र पर्सामा अघि बढाएको जनता आवास कार्यक्रमलाई सहयोग पुर्‍याउन स्थानीय र जनप्रतिनिधिलाई आह्वान गरेका छन् ।

‘नेपाली सेनाले उच्च प्राथमिकताका साथ वर्षा अगाडि नै आवास निर्माण सम्पन्न गर्नेछ, उनले भने, ‘यो परियोजनालाई सफल तुल्याउन सङ्घीय, प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्छ, आपद बिपदमा परेका जनताको समस्या समाधान एक भएर अघि बढौँ, आवास निर्माणका लागि आवश्यक बजेटसहित कार्ययोजना बनाइएको छ।’

उपप्रधानमन्त्री यादवले भने, ‘जनता आपतविपत् र प्राकृतिक विपत्तिमा परेका बेला राज्यले जनतालाई राहत दिनु कर्तव्य हो, जनताको साथमा हामी छौ, राज्य छ, सरकार छ, जनता निरिह छैनन् भन्ने कुराको सन्देश आज हामीले दिएका छौ ।’

गृहमन्त्री थापाले भने, ‘जहाँ जनतालाई सङ्कट पर्छ, त्यहाँ सरकारसँगै हुन्छ भन्ने सन्देश दिएका छौं, एकै दिन १२ स्थानबाट कामको थालनी हुनुले काम समयमै हुन्छ, सेनाले यस किसिमको काम फत्ते गर्दै आएको छ, यो काम पनि बर्षात् अघि नै पूरा गर्नेछ।’

उर्जामन्त्री पुनले निर्माणको कामलाई तदारुकताका साथ गर्न र बर्षाद अघि नै सम्पन्न गर्ने लक्ष्य राखेर निर्माणको कामको जिम्मेवारी नेपाली सेनालाई दिइएको बताए।

शहरी विकासमन्त्री राईले जनता आवासअन्तर्गत बलियो घर निर्माण हुने र त्यसमा एउटा सानो परिवार समान्य ढङ्गबाट बस्न सक्ने बताए। उनले बर्षात् अघि पीडित बलियो छानामुनी बस्न सकुन भनेर छिटो तयार गर्न नेपाली सेनालाई जिम्मेवारी दिइएको जानकारी गराए।

प्रदेश नं २ का मुख्यमन्त्री राउतले हावाहुरी प्रभावित बारा र पर्साका जनताको राहतका लागि सङ्घीय सरकारले देखाएको चासो र चिन्ताप्रतिको कामको स्वागत गर्दै नेपाली सेनाले समयमै सम्पन्न गर्ने गरी कार्यायोजना बनाएर गरेको कामप्रति कृतज्ञता प्रकट गरे।

नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुलले नेपाली सेनाले पुनःनिर्माणको जिम्मेवारीलाई चुनौती र अवसरका रुपमा लिएर स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी भवन निर्माण तोकिएको समयभित्र सम्पन्न गरिने प्रतिबद्धता जनाए।

पर्सा जगरनाथपुरका हावाहुरी प्रभावित पुनकाल साहले भने, ‘हामी अत्यन्त खुशी भएका छौँ सरकारका मन्त्री आएर हाम्रो घरको शिल्यान्यास भएको छ, नेपाली सेनाले नयाँ घर बनाएर दिने भनेको छ, हामी वर्षात् अघिनै नयाँ घरमा बस्न पाउनेमा ढुक्क छौँ।’

गत चैत १७ गतेको चक्रपातमा २८ को मृत्यु हुनका साथै ठूलो परिमाणमा भौतिक संरचना र सम्पत्ति क्षति भएको थियो ।