काठमाडौं – कांग्रेस नेता रामहरि खतिवडाले भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीकैजस्तो कुर्ता–सुरुवाल लगाएर नेपालको राष्ट्रियतालाई कमजोर पारेको दाबी गरेका छन् ।


ADVERTISEMENT


सोमबार राष्ट्रिय पोशाक संरक्षण महाअभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खतिवडाले प्रधानमन्त्री ओलीले नेपालस्थित भारतीय दुतावासमै लुगाको नापजाँच गरेर मोदीकै नक्कल गरेको आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


‘नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलेजस्तै पोशाक लगाएर जानुले नेपालको राष्ट्रियतालाई कमजोर पारेको छ ।’ उनले भने, ‘भारतप्रति उहाँ लम्पसार पर्नुभयो । र, त्यो उहाँको आत्मसमर्पणवादी कदम हो ।’ नेपालमा विदेशी पाहुनाहरु आउँदा नेपालको राष्ट्रिय पोशाक उपहार दिनुपर्ने उनले सुझाए ।

भुटानका राजाले विश्वकै जुनसुकै देशको भ्रमणमा जाँदापनि राष्ट्रिय पोशाक लगाएको उदाहरण दिँदै नेपालीहरुले पनि आफ्नो पोशाकलाई माया गर्नुपर्नेमा पनि खतिवडाले जोड दिए । खतिवडाले आफू ०७० सालमा सांसदमा निर्वाचित हुँदा संसद बैठकको सुरु दिनदेखि अन्तिम दिनसम्मपनि राष्ट्रिय पोशाकमै उपस्थिति भएको सुनाए । नेताहरुले पनि आफ्नो देशको पहिचान जोगाउनुपर्ने उनले सुझाए ।

यस्तै उनले मुलुक यतिवेला अप्ठ्यारोमा रहेको सुनाउँदै पानीजहाज, रेल र सुनको कुरा सुन्दा निन्द्रा नै नलाग्ने अवस्था भैसकेको पनि व्यंग्य कसे । उनले सरकारको ल्याएको नीति तथा कार्यक्रम राष्ट्रपतिले कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेर श्री राजतन्त्रवादी शैली अपनाएको बताए । श्री विद्यादेवी भण्डारीको सरकारको जनता हुन पाएकोमा धन्यवाद भन्दै खतिवडाले पूनः व्यंग्य कसे ।

यस्तै नेकपाका नेता एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले नेपाल र नेपालीको पहिचान नै पोशाक भएको भन्दै यसको सरंक्षण र प्रर्वद्धनमा जोड दिए । नेपालको राष्ट्रिय झण्डा विश्वसामू अलग पहिचानको भएजस्तै नेपालको राष्ट्रिय पोशाकपनि विश्वमै अलग पहिचान बोक्ने खालको भएको उनको भनाई छ ।

‘विश्वको जुनसुकै कुनामा दौरा–सुरुवाल र राष्ट्रिय झण्डा बोकेर उभियो भने त्यो नेपाली नै हो भनेर विश्वले चिन्दछ’, उनले भने । कांग्रेसका नेता रामहरि खतिवडाले गरेको टिप्पणीको खण्डन गर्दै प्रधानमन्त्री ओलीले लगाएको पोशाक मिथिला कै भएको र खतिवडाको नजरले त्यसलाई भारतीय देखेको बताए ।

‘प्रधानमन्त्रीले जनकपुरमा लगाएको कुर्ता सुरुवाल मिथिलाकै हो ।’ उनले भने, ‘तर, उहाँले लगाएको पोशाक रामहरिजीको नजरले भारतीय नजर देख्यो ।’