काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दक्षिण पूर्वी एसियाली (आसियान)का दुईवटा मुलुक भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा निस्किएका छन् । नेपाल एयरलाइन्सको विमान चार्टर गरेर प्रधानमन्त्री ओली ६ दिनको भियतनाम र कम्बोडिया भ्रमणमा निस्किएका हुन् ।


ADVERTISEMENT


परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र केन्द्रित नगरी साना र विकासशील राष्ट्रमा समेत विस्तार गर्ने उदेश्यले प्रधानमन्त्रीको यो भ्रमण आरम्भ भएको जनाइएको छ ।


ADVERTISEMENT

# # #


भियतनामका प्रधानमन्त्री न्युग्यन जुयान फुकको निमन्त्रणामा त्यहाँको पाँचदिने भ्रमण समापनपछि प्रधानमन्त्रीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा त्यहाँको तीन दिनको भ्रमण गर्नेछन् । दुबै भ्रमण औपचारिक भ्रमण हुन् ।

प्रधानमन्त्री ओलीले ‘सार्वभौमिक समानता’ का आधारमा छिमेकी राष्ट्र, अमेरिकालगायतका शक्ति र अन्य राष्ट्रसँग सम्वन्ध कायम गर्ने नीति लिएका छन् । त्यस अनुसार नै छिमेकी राष्ट्र भारत र चीनको राजकीय भ्रमण गरिसकेका छन् भने संयुक्त राष्ट्रसङ्घीय महासभामा प्रभावकारी उपस्थिति देखाएका छन् ।

सम्वन्धका दृष्टिकोणले खुम्चिएको तर तीव्र आर्थिक विकास गरिरहेका आसियान राष्ट्रहरूसँग द्विपक्षीय सम्वन्ध प्रभावकारी रूपमा अगाडि बढाउनका लागि यी दुई राष्ट्रको भ्रमण तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

यस्तो छ कार्यतालिका

भियतनाम भ्रमणमा प्रधानमन्त्री ओलीले समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् भने त्यहाँका नेशनल एसेम्ब्लीका अध्यक्षसँग पनि भेटवार्ता गर्नेछन् ।

‘ठूला साना, विकसित र विकासशील सबै राष्ट्रसँग नेपालको विकासलाई प्राथमिकतामा राखेर सहकार्य गर्ने सरकारको नीति हो । त्यसै सिलसिलामा यी भ्रमण हुँदैछन्’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भने ।

भियतनामै त्यहाँको हानाम प्रान्तमा आयोजना हुने ‘इन्टरनेसनल डे अफ भैशाक’ लाई उनले सम्वोधन गर्नेछन् । राष्ट्रिय भियतनाम बुद्धिष्ट संघले मे १२–१४ सम्म १६ औं संयुक्त राष्ट्रसङ्घीय भैशाक डे र अन्तर्राष्ट्रिय बुद्धिष्ट सम्मेलन आयोजना गरेको हो । त्यसमा नेपाल लगायत अन्य देशबाट बौद्ध भिक्षुहरुको ठूलो समूह पनि सहभागी हुँदैछ । सम्मेलनमा भारतका उपरराष्ट्रपति बैंकट नाइडु, मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदसहितको उच्च राजनीतिक नेतृत्वसमेत सहभागिता हुँदैछ ।

प्रधानमन्त्री ओलीलाई संयुक्त राष्ट्रसङ्घीय महासभा र डावोसमा भएका साइडलाइन वार्तामा भियतनामका प्रधानमन्त्रीले भ्रमणका लागि निम्ता दिएका थिए । क्षेत्रीय मञ्चका रूपमा नमुना बनेको र पछिल्लो समय ‘आसियन मिराकल’ भनिने समूहभित्र भियतनाम पनि पर्छ । सन् १९७५ मे १५ मा मा नेपाल र भियतनामबीच औपचारिक कूटनीतिक सम्वन्ध स्थापित भए पनि खास द्विपक्षीय गतिविधि भएका छैनन् ।

यस्तै प्रधानमन्त्री ओलीलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेनले नेपालको औपचारिक भ्रमणमा आएका बेला निम्ता दिएका थिए । त्यस अनुसार नै अहिले भ्रमण तय भएको हो । वैशाख ३० देखि जेठ १ गतेसम्म हुने भ्रमणमा विगतमा भएका समझदारीलाई छिटो कार्यान्वयन गर्नेबारेमा थप छलफल हुनेछ भने लुम्बीनीमा बुद्धिष्ट पर्यटक भित्र्याउनेबारेमा समेत छलफल हुनेछ ।

नेपालले सन् २०२० लाई भ्रमण बर्षका रुपमा मनाउने र २० लाख पर्यटन भित्र्याउने कार्यक्रम बनाएकोमा त्यसका लागि पनि प्रधानमन्त्रीका आयिसन राष्ट्रको भ्रमण उपलब्धिमूलक हुनसक्छ ।