काठमाडौँ – नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ केन्द्रीय सञ्चालक समितिको पाँचौ महाधिवेशन सम्पन्न भएको छ । शुक्रबार जंगी अड्डास्थित श्री त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा समितिले महाधिवेशन सम्पन्न गरेको हो ।


ADVERTISEMENT


बिहीबारदेखि सुरु भएको उक्त महाधिवेशनको कार्यवाहाक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका थिए । महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस महाधिवेशनबाट नेतृत्व चयन गर्दा विगतमा भूपूसैनिकहरुको समस्याहरुको समीक्षा गर्नुपर्ने र यसको जगमा रही योजना बनाउदा फलदायी हुने बताए ।


ADVERTISEMENT

# # #


सम्बोधनको क्रममा उनले विश्व सामु वीर गोरखालीको रुपमा परिचय प्राप्त गर्न वीर सैनिकहरुले पुर्‍याएको योगदान र बलिदानबाट सम्भव रहेको हुँदा यसले सिङ्गो देशको प्रतिष्ठा बढाएको उल्लेख गरे । उनले भूतपूर्व सैनिक जनशक्तिले नेपाल सरकारको लक्ष्य ‘समृद्ध नेपाल सुखी नेपाली’ मा प्रत्यक्ष रुपमा टेवा पुर्‍याउन रक्षा मन्त्रालय, बहालवाला तथा भूतपूर्व सैनिकहरुको सहकार्य आवश्यक रहेको औँल्याए ।

कार्यक्रमको क्रममा बलाधिकृत रथी शरद कुमार गिरीले नेपाली सेनाको तर्फबाट शुभकामना दिँदै नेपाली सेनाका संस्थागत मुल्य–मान्यताहरु, रिती–रिवाज र पेशेवर संस्कारलाई अवकाश पश्चात पनि जीवन्त राख्न भूपूसैनिकको भूमिका महत्वपूर्ण हुने बताए ।

यस्तै सञ्चालक समितिका केन्द्रीय सभापति सहायक रथी दिगम्वर शम्शेर ज.व.रा. (अ.प्रा.) ले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ नेपाली सेनाबाट अवकाश प्राप्त भूतपूर्व सैनिकहरुलगायत परिवारहरुको कल्याण र परिआएको समयमा देश र जनताको रक्षा गर्ने मुलभूत लक्ष्यसहित २०११ सालमा राज्य र सेनाप्रति पूर्ण आस्था र निष्ठासहित एक विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापना भएको जानकारी दिए ।

उक्त महाधिवेशनबाट नेपाल सरकारको संघीय संरचना अनुसार ७७ वटा जिल्ला मध्ये हाल ६० जिल्लामा छरिएर रहेका भूतपूर्व सैनिकहरुको संगठनबाट केन्द्रिय सभापतिमा पूर्वकेन्द्रिय सभापति सहायक रथी दिगम्वर शम्शेर ज.व.रा. (अ.प्रा.) पुनः निर्वाचित भएका छन् ।