– पर्शुराम बस्नेत, उपाध्यक्ष, युवा संघ नेपाल


ADVERTISEMENT


२०४७ साल जेठ १ गते बर्तमान प्रधानमन्त्री केपी शर्माओलीको संयोजकत्वमा युवा संघ नेपालको स्थापना भएको हो । त्यही अवसरमा हामी जेठ १ गतेलाई स्थापना दिवसका रुपमा मनाउँदै आएका छौँ । आज युवासंघ २९ औँ वर्षमा प्रवेश गरेको छ । यस समयसम्म युवा संघ नेपालले युवा आन्दोलनमात्रै होइन, राष्ट्र र राष्ट्रिय अखण्डताका पक्षमा अहोरात्र खट्दै मुलुकमा संघीय गणतन्त्र स्थापना गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।


ADVERTISEMENT

# # #


त्यसकारण आज २९ औँ स्थापना दिवस मनाइरहँदा हामी के कुरा गर्वबोध गर्छौँ भने हाम्रो स्थापनाकालको संयोजक कम्रेड हाम्रो गौरवशाली पार्टी नेकपाको अध्यक्षमात्रै होइन, मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री हुनुहुन्छ, त्यो पनि दुई तिहाईको बहुमतका साथ । यो भन्दा ठूलो उपलब्धी केही हुन सक्दैन । त्यसकारण यो पुष्टि हुन्छ कि युवासंघ नेपालको उत्पादन उत्कृष्ट छ । युवासंघ नेपालले लिएको लक्ष्य, उद्देश्य ठीक छ ।

सुखी नेपाली, समृद्ध नेपालको धारणा अनुसार हामीले समृद्ध बनाउने र यो मुलुकको समृद्धिको नेतृत्व हाम्रो संस्थापक संयोजक केपी शर्माओलीले गर्न पाउने हुँदाहुँदै पनि अबको आन्दोलन कसरी अगाडि बढाउने ? मुलुकको समृद्धिसंग युवालाई कसरी जोड्ने ? अझ विदेशमा भएको युवालाई पनि समृद्धिमा सहभागी गराउनका लागि कस्ता कार्यक्रम बनाउने भन्ने विषयमा जन्मोत्सव मनाइरहँदा छलफल गरिरहेका छौँ । अबको हाम्रो आन्दोलन अधिकारको होइन, समृद्धिसंग युवालाई जोड्ने हो ।

दुई ठूला कम्युनिस्ट पार्टीका युवा संगठन युवा संघ नेपाल र वाइसीएल बेग्लाबेग्लै अस्तित्वमा अगाडि बढेका थिए । अब यी दुईको एकताको प्रक्रिया चाँडोभन्दा चाँडो हुनुपर्छ । अरु जन्मोत्सव भन्दा यो जन्मोत्सव फरक छ । फरक यो मानेमा कि हामीले सबै अधिकारका आन्दोलनहरु हासिल गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौँ । अब गम्भीर भएर एउटा जिम्मेवार संगठनको रुपमा वाइसीएल नेपाल र युवासंघ नेपाललाई एकता गरेर आम नेपालीलाई उत्पादनमा जोड्नका लागि अघि बढ्नुपर्छ । अब एकतापछिको नेतृत्वको कुरामा विशेष परिस्थितमा केन्द्रियता लागू हुनुपर्छ । तर, त्यसका लागि युवा संघको सुझाव आवश्यक हुन्छ ।  केन्द्रले गरेका फैसलाहरु, पार्टी नेतृत्वले गरेका निर्णयहरु हामीले आत्मसाथ गरेर अगाडि बढ्नुपर्छ । संघठनको नाम पनि युवासंघ नै हुनुपर्छ र नेतृत्व पनि युवा संघले नै पाउनुपर्छ भनेर हामी दाबी गरिरहेका छौँ । हामीले भनेभन्दा फरक किसिमले हुन्छ भन्ने लाग्दैन ।

देशमा बल्ल राजनीतिक स्थिरता कायम भएको छ । यो अवस्थामा हामीले विदेशमा होइन, स्वदेशमै बसेर केही गर्नुपर्छ । समृद्ध नेपाल बनाउने महाअभियानमा सबै नेपाली लाग्नुपर्छ । युवा आन्दोलनलाई सही ढंगले तथा समय सापेक्ष चलाउनका लागि यो जन्मोत्सवले नयाँ सन्देश प्रवाह गर्ने इच्छाशक्तिका साथ हाम्रो नेतृत्व अगाडि बढेको छ । २९ औँ जन्मोत्सवले नयाँ दिशानिर्देश गर्नेछ भन्ने मेरो विश्वास रहेको छ ।

(युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं युृवा संघ नेपाल एक नम्बर प्रदेश प्रमुख समेत रहेका बस्न्यातसंग संगठनको २९ औं जन्मोत्सवको अवसरमा गरिएको कुराकानीमा आधारित)