काठमाडौं – गलत रगत दिएका कारण ज्यान गुमाएकी बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन् । सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिको वैशाख २३ गते निधन भएको थियो ।


ADVERTISEMENT


बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आकृतिका बुवा रामप्रवेशले उनले यस्तो माग गरेका हुन् । आफूहरु न्यायको लागि विभिन्न ठाउँमा भौतारिँदापनि कतैबाट उचित न्याय नपाएको उनले गुनासो पोखे । उनले भने, ‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौं । तर, न्याय पाएका छैनौं । यसले हामीलाई अझै पीडा दिएको छ।’


ADVERTISEMENT

# # #


शल्यक्रिया गर्नुपूर्व विरामीको दुवै मृगौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाईएको पनि बुवाले सुनाए ।‘शल्यक्रिया गरेलगत्तै मृगौला फेल भएको मेडिकल रिपोर्ट छ। हामीलाई यसमा पनि शंका लागेको छ ।’ उनले भने, ‘यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ ।’

आफूहरुले स्वास्थ्य मन्त्रालयमा पुगेरपनि न्याय पाउँ भनि हारगुहारसमेत गरेको उनले सुनाए । उनले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको दुःखेसो पोखे ।

‘छोरीको मृत्युको सत्यतथ्य छानबिनका लागि आज १० दिन भयो हामीहरु सरकारी कार्यालय धाउन थालेको । तर, अहिलेसम्म सरकारी कार्यालयबाट सहयोग भएको छैन् ।’ उनले भने, ‘अब हामी कहाँ जाने ? हामीलाई कहिले न्याय दिनुहुन्छ ?

कार्यक्रममा बालिकाका आफन्त सरेन्द्र यादवले शल्यक्रियामा संलग्न चिकित्सकले जानाजान गल्ती गरेर गलत रगत चढाएको आरोप लगाए । ‘मुटुको शल्यक्रिया हुँदा मृगौलाको भागमा किन चिरियो ?’ प्रश्न गर्नै उनले भने, ‘सुरुदेखि नै चिकित्सकले गल्ती गरिरहनुभएको छ।’

शल्यक्रियापुर्व अस्पताल प्रशासनले गराउने मञ्जुरीपत्रमा विरामीको मर्ने सम्भावनामा १ देखि २.५ प्रतिशत रहेको लेखिएको भएता पनि निधनपछि सोही ठाउँमा टिपेस लगाएर २० देखि ३५ प्रतिशत बनाईएको उनले बताए ।

प्रहरी प्रशासनकहाँ पटक–पटक धाउँदापनि किटानी जाहेर लिन नमानेको यादवले पनि आरोप लगाए । आफूहरु शल्यक्रियामा संलग्न चिकित्सक र ल्याबका व्यक्तिको नाम उल्लेख गरेर मुद्दा दर्ता गराउन गएको भएपनि मुद्दा दर्ता नभएको पनि उनले सुनाए ।

यस्तो लापरवाही गर्ने डाक्टरलाई जागिरबाट हटाउनुपर्ने र उनको प्रमाणपत्र नै रद्द गर्नुपर्ने यादवको माग छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्दा फरक रगतका कारण आकृतिकुमारी साहको मृत्यु भएको थियो । आकृतिको शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छ ।

तर, बालिकाका बुवा रामप्रवेशले छोरीको शव कहाँ राखेको छ भन्ने कुरा अहिलेसम्म थाहा नभएको सुनाए । ज्यान मार्ने धम्की आएको सुनाउँदै उनले भने, ंमलाई त ईन्साफ चाहिएको छ। तर, खुरुक्क लाश लिएर जान, बढि बोलिस भने तलाई नालामा फालिदिन्छु भनेर मलाई धम्की दिने गरेका छन् ।’ ‘ओ’ पोजेटिभ भएकी आकृतिलाई ‘ए’ पोजेटिभ रगत दिइएको थियो । जसका कारण उनको मृत्यु भयो ।

कार्यक्रममा बरिष्ठ डा. सुरेन्द्र भण्डारी र डा.नारायण घिमिरेले घट्नामा लापरवाही गर्नेलाई कारबाही गर्नुपर्ने माग गरे । भण्डारीले मृत्तकको पिताले लिएर गएको जाहेरी दर्ता नगरिएको दुस्कृतिसँग सम्बन्धित दायित्वको मुद्दा हालिनेपनि जनाए । भण्डारीले आफुहरुले पीडित परिवारलाई सहयोग गर्ने विश्वास दिलाए ।

नेपालका लागि नेपालीका अभियन्ता अधिवक्ता घिमिरेले यो घट्नाको अनुसन्धानको दायरा अघि बढ्नुपर्ने माग गरे ।