सोलुखुम्बु – साहसिक आरोही कामीरिता शेर्पाले आफ्नै कीर्तिमान तोड्दै २४ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
सोलुखुम्बु थामेका शेर्पाले सोमबार विहान ६ः३८ मा एकै सिजनमा दुई पटक सगरमाथाको आरोहण गर्नुभएको सगरमाथा आधारशिविरबाट नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । जेठ १ गते बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३ औँ पटक पाइला टेक्नुभएका शेर्पाले सातदिनभित्र दुई पटक सगरमाथाको आरोहण गरेका हुन् ।
लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन् । यस पटकको दुवै आरोहण शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत गरेका हुन् ।

सगरमाथाको शिखरमा पुगेपछि फोटो खिचाउँदै कामीरिता शेर्पा ।
यो राष्ट्रकै गौरवको कुरा भएको पर्यटन व्यवसायीहरु बताउँछन् । सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए । बौद्ध धर्मअनुसार एक महिनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए ।
यसअघि २१ पटक सगरमाथा चढेका कीर्तिमानधारी आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् ।