– सुरज वैद्य, संयोजक, भ्रमण वर्ष २०२० राष्ट्रिय अभियान


ADVERTISEMENT


सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी ‘भिजिट नेपाल २०२०’ को योजना ल्याएको छ । तपाईले त्यसको नेतृत्व गरिरहनु भएको छ । तयारी कस्तो भइरहेको छ ? लक्ष्यमा पुग्न सकिएला ?


ADVERTISEMENT

# # #


यसका लागि धेरै कामहरु अगाडि बढिसकेका छन् । २० लाख पर्यटक भित्र्याउने भन्ने हाम्रो जुन लक्ष्य छ, त्यसका लागि हामी सबै जुटेका छौं । हामीलाई अहिले जति सहयोग मिलिरहेको छ, त्यो आधारमा पनि यो लक्ष्य अवश्य पूरा हुनेछ । यसले लक्षित वर्षभन्दा पनि भोलिका दिनमा अझ बढाउँछ । हाम्रो भनाइ पनि, ‘२०२० र त्यसपछि’ भन्ने छ । त्यसै अनुसार अहिले कामहरु भइरहेका छन् ।

यो पहिलो चौमासिकमा नै १४ देखि १७ प्रतिशतले नेपाल आउने पर्यटकको संख्या बढेको छ । यहि गति रहने हो भने हामी त्यो लक्ष्यमा पुग्न सक्छौँ । भर्खरै मात्र म लुम्बिनी गएको थिएँ । त्यहाँका व्यवसायीसंग होटेलको अवस्थाका बारेमा सोध्दा उत्कृष्ट रहेको पाएँ । त्यसकारण पनि यो लक्ष्यमा हामी पुग्नेछौँ ।

भ्रमण वर्षको तयारी गर्दैगर्दा कुन कुन कुरामा ध्यान दिन जरुरी छ ?

अहिले समय कम भएको कारणले गर्दा सबैभन्दा पहिले बाहिरको पर्यटक देश भित्र ल्याउने हो । त्यसका लागि काठमाडौँ देखि ‘वनस्टप फ्लाइट’ लाई बढी प्राथमिकता दिएका छौँ । त्यसको मतलब के हो भने, जस्तो चीनको गोन्जाओ, छेङ्गदु वा भारतको दिल्ली, बम्बई, बैँगलोरजस्तालाई हामी महत्व दिन्छौँ । त्यो भन्दा उता हामी टर्कीमा फोकस गर्छौँ । पूर्वमा थाइल्याण्ड, मलेसिया, सिंगापुर, कोरियालाई हामीले बढी महत्व दिएका छौँ । यी ठाउँका लागि हामीले काम गर्न सुरु गरिसकेका छौँ ।

भर्खरै म चीनबाट फर्किएको छु । त्यहाँको सबैभन्दा ठूलो ट्राभल एजेन्सी ‘सीट्रिप’संग हामीले सम्झौता गरिसकेका छौँ । त्यसको नारा नै ‘ह्यासट्याग सीयु इन नेपाल’ भन्ने छ । मलाई लाग्छ, त्यसले ठूलो मात्रामा चिनियाँ पर्यटक भित्र्याउने छ । हामी यो काम जुन महिना देखि सुरु गर्दैछौँ । त्यस्तै ‘द वे टु द पियोर ल्याण्ड’ भन्ने एउटा सिनेमा बनाउँदैछौँ । चीन र नेपालबीचको सम्बन्धलाई जोडेर यसलाई राम्रो प्रचार सामग्री बनाउने हाम्रो सोच छ ।

यस्तै नोभेम्बर २५ देखि चीनकै सांघाईको सबैभन्दा बढी पर्यटक जाने ठाउँ टीभी टावरमा सात दिनका लागि विभिन्न कार्यक्रम गर्दैछौँ । मलाई लाग्छ, त्यसले निकै नै प्रभाव पार्छ । यस्तै भारतमा ‘मेक माई ट्रिप’ भन्ने ट्राभल कम्पनीसंग मिलेर काम गर्दैछौँ । भारतबाट भर्खैरै १२ जनाको टोली आएको थियो । उहाँहरुसंग हामीले कसरी यसलाई अगाडि बढाउन सकिन्छ भनेर कुराकानी गरिसकेका छौँ । यस्तै काममा हामी लागि रहेका छौँ । त्यसकारण लक्ष्यमा अवश्य नै पुग्नेछौँ भन्ने लाग्छ ।

विशेषगरी कुन देशबाट हामी सबैभन्दा बढी पर्यटकलाई आकर्षित गर्न सक्छौँ ?

सबैभन्दा पहिले त हामीले छिमेकी मुलुक नै हेर्नुपर्छ । हामीलाई थाहा छ, छिमेकी देश चीन र भारत नै सबैभन्दा बढी जनसंख्या भएका मुलुक हुन् । त्यहाँबाट कस्ता खालका पर्यटक ल्याउने भन्ने बारेमा हामीले रणनीति बनाउनु पर्छ । हिन्दु र बौद्ध धर्मका धार्मिक आस्थाका केन्द्र हामी संगै भएकाले पनि त्यसमा जोड दिनुपर्छ । चीनमा जाँदा मैँले धेरै गुरुहरुलाई भेटेँ । सांघाईका गुरुले त एकैपटक ७६ हजार जना ल्याउँदैछन् । चीनको बुद्धिजम् सँग मिलेर हामी ‘द फ्लेम अफ पिस’ भनेर लुम्बिनीबाट यहाँको फ्लेमलाई (१५ वटा गाडी आउँदैछ, २०२० सेप्टेम्बरमा) लगेर हरेक मन्दिरमा हाल्दैछौँ । त्यसको तयारी पनि भइरहेको छ ।

नेपालमा बुद्ध भगवान जन्मेका मात्रै होइनन्, यहाँ बुद्ध भगवानको ‘पिस अफ फ्लेम’ नै छ भनेर प्रस्तुत गर्दैछौँ । भारतको सन्दर्भमा हामी बढीभन्दा बढी ‘कोअपरेट ग्रुप’लाई अफसिजनमा भित्र्याउने योजना गरिरहेका छौँ । यस्तै अमेरिका, अष्ट्रेलिया, बेलायतजस्ता देशहरु जुन पर्यटनका हिसाबले नेपालमा पहिलो पाँचभित्र पर्दछन् । तिनलाई ‘एड्भेन्चर टुरिजम्’ मा कसरी अगाडि बढाउने भनेर छलफल गरिरहेका छौँ । नयाँ ट्रेकिङ रुट पत्ता लगाउँदैछौँ । कर्णालीमा हाम्रो टिम गइसकेको छ । अहिले संसारमा सबैभन्दा लामो र्याफ्टिङ अमेजन नदीमा भएको छ । जुन झण्डै ८० किलो मिटर रहेको छ । कर्णालीमा हामी १२० किलोमिटरको र्याफ्टिङ गर्दैछौँ । त्यो हामी नेशनल जियोग्राफिकसंग मिलेर गर्दैछौँ । यस्ता खालका काम थुप्रै भइरहेका छन् ।

हाम्रो अर्को टिम मुक्तिनाथदेखि मार्फासम्म साइकलिङ च्याम्पियनसिपको तयारी सुरु गर्दैछ । साइकलिङकै सन्दर्भमा काठमाडौँका मेयरहरुसंग बसेर हामी केही कामहरु गर्दैछौँ । काठमाडौँलाई प्रदुषणरहित बनाउन ‘ग्रिन वर्ल्डस्’ भन्ने हामी सुरु गर्दैछौँ । काठमाडौँका सडकमा रहेका रुखहरुमा राती बत्ति बल्नेगरी ‘सेफ्टी एण्ड ब्युटी’ भनेर बत्तिहरु राख्दैछौँ । ‘काठमाडौँ भ्याली बाई नाइट’ भन्ने हाम्रो ठूलो कार्यक्रम छ । त्यसको कामहरु सुरु भइसकेको छ । यस्तै हरेक प्रदेशमा हामी गइरहेका छौँ । भर्खरै प्रदेश नं ५ का मुख्यमन्त्री र निजी क्षेत्रका साथीहरुसंग बैठक गरेको  छु । पर्यटन लगानीका सन्दर्भमा हामी छलफल गर्दैछौँ । यो जुलाई महिनादेखि हामी बृहत्त ‘रोड शो’ गर्दैछौँ ।

यसका लागि सरकारी पक्षसंग कसरी समन्वय भइरहेको छ ?

सरकारको सम्वन्वय त छँदैछ, तर निजी क्षेत्रले पनि केही गर्न सक्छ भनेर देखाउने समय यही हो । त्यसकारण सरकारले के गर्ला भन्दा पनि कसरी हाम्रो नेतृत्वमा यसलाई अगाडि बढाउने भन्ने हो । अहिले एयरपोर्टमा धेरै कुराहरु सुध्रिसकेको छ । बुटिक एयरपोर्टको अवधारणा पनि हामीबाटै आएको हो । प्रधानमन्त्रीले यसलाई अगाडि बढाउनु भएको छ । आउने वर्षको अन्तसम्म धेरै नै सुध्रिन्छ । यस्तै आन्तरिक एयरपोर्टमा पनि केही सुधार ल्याउन खोजिरहेका छौँ । भैरहवास्थित एयरपोर्ट पनि लगभग अन्तिम चरणमा पुगेको छ । त्यसकारण मलाई लाग्छ राम्रै भइरहेको छ ।

विदेशीहरुलाई नेपाल भित्र्याउनका लागि पर्यटनसंगै अरु कुन कुन क्षेत्र हुनसक्छन ?

हामी नेपाली के भन्ठान्छौँ भने सबै विदेशी पर्यटकहरु हिमाल, नदीनाला वा लुम्बिनी हेर्न आउँछन् भन्ने सोच राख्छौँ । तर, मैँले धेरै विदेशीसंग बसेर नेपालबाट के लानुहुन्छ भनेर सोध्दा उहाँहरु नेपाली मुस्कान लगिरहेका छौँ भन्नुहुन्छ । हामी नेपालीको संस्कार, हाम्रो व्यवहार, इमान्दारिताले उहाँहरुलाई छोएको हुन्छ । कुनै पहाड वा भगवान मात्रै होइन, हाम्रो नेपाली पहिचानले पनि उहाँहरुलाई आकर्षित गर्छ । हाम्रो आतिथ्य संस्कारले उहाँहरुलाई छुन्छ । त्यसकारण विदेशीहरु नेपालबाट फर्किँदा हामी नेपालीहरुलाई कहिल्यै नबिर्सने सम्झना र हाम्रो परिचय लिएर जाउन भन्ने चाहन्छु ।

अन्त्यमा, के भन्नुहुन्छ ?

यो भ्रमण वर्ष अभियान नेपाल सरकारको मात्र होइन, हाम्रो वा नेपाल पर्यटन बोर्डको मात्रै होइन, हामी सबै नेपाली जनताको हो । हाम्रा पाहुना आउँदैछन्, त्यसका लागि हामी सम्पूर्ण नेपाली तयार होऔँ । त्यसका लागि हाम्रा सहरहरु सफा राखौँ । हाम्रो व्यवहार केही सुधारौँ  की पाहुनाहरु नेपालबाट फर्किएपछि नेपालको बारेमा थप राम्रो कुरा गरुन । त्यसकारण, यो अभियान सफल हुनु भनेको नेपाल सफल हुनु हो । तपाई हामी सफल हुनु हो ।