विविध विषयमा नेपाल राष्ट्र बैँकका प्रवक्ता एवम् सूचना अधिकृत लक्ष्मी प्रपन्नाचार्य निरौलासंग गरिएको छोटो कुराकानी :


ADVERTISEMENT


बैंक तथा वित्तीय संस्थाका बारेमा राष्ट्र बैँकले कसरी काम गरिरहेको छ ?


ADVERTISEMENT

# # #


पहिलो कुरा त बैँक तथा वित्तीय संस्थाको वित्तीय स्वास्थ्य नै राम्रो बनाउने हो । अर्को कुरा डिपोजिटको सुरक्षा र वित्तीय स्थायित्व कायम गर्नु राष्ट्र बैँकको दायित्व हो । यस्तै आर्थिक वृद्धिमा सहयोग पुर्याउने गरी नीतिगत व्यवस्थामा काम गर्ने हाम्रो पहिलो लक्ष्य हो ।

अहिले कमर्सियल बैँकदेखि लिएर विभिन्न किसिमका वित्तीय संस्थाको मर्जको कुरा आइरहेको छ । यो विषयमा के भन्नुहुन्छ ?

यो धेरै पक्षबाट कुरा आएको पनि छ । तर, यहि किसिमले वा मोडलबाट बैँकको संख्या घटाउने भनेर निर्णय भएको छैन । औपचारिक रुपमा नभएपनि विभिन्न क्षत्रेबाट बैँक तथा वित्तीय संस्थाको संख्या बढी भयो भन्ने अनुभव गरिएको छ । तर हामीले के कुरा भुल्नु हुँदैन भने त्यसका लागि वित्तीय सेवाको आधारभूत लागत घट्नेगरी काम गर्नुपर्ने हुन्छ । त्यसका लागि के आवश्यक हुन्छ, त्यो गर्नुपर्छ ।

बैंक तथा वित्तीय संस्थामा जनताको लगानीदेखि विकास र समृद्धिका कुराहरु जोडिएका छन्, यसमा कसरी निर्देशन भइरहेको छ ?

राष्ट्र बैँकले प्राथमिकताप्राप्त क्षेत्रहरुमा लगानी गर्नुपर्छ भनेर भनिसकेको छ । जसले तोकिएको क्षेत्रमा लगानी पुर्याउँदैन, त्यसलाई कारबाही गरिसकिएको अवस्था छ । त्यो प्रयाप्त छ कि छैन भन्ने कुरा अब मूल्याङ्कन गर्ने बेला भएको छ । बैंकिङ्ग क्षेत्रबाट जुन समृद्धिका कुराहरु आइरहेका छन्, विशेषगरी नयाँ सरकार बनेपछि । त्यसका लागि बैकिङ्ग क्षेत्रले कसरी सहयोग पुर्याउने र लगानीलाई उत्पादन र राजगारमुलक क्षेत्रहरुमा कसरी अधिकेन्द्रित गर्ने भन्ने बारेमा पुर्नमूल्याङ्कन गरेर नयाँ नीतिगत व्यवस्था गर्नुपर्ने हुन सक्छ । यो दिशातिर समग्र बैँकिङ्ग प्रणाली जान्छ जस्तो लाग्छ ।

नयाँ अंकको नोट ल्याउने भन्ने कुरा आएको थियो । यसको बारेमा के भइरहेको छ ?

अहिले बजारमा नोटको समस्या भएको छैन । नोट छाप्ने काम दायित्व राष्ट्र बैँकको हो । त्यसकारण आवश्यक भएमा छाप्ने काम हुन्छ । जसका लागि कुनै चुनौति छैन । जहाँसम्म नयाँ अंकको कुरा छ, यसको बारेमा राष्ट्र बैँकले कुनै सोचाइ राखेको छैन ।

सरकारले हरेक नेपालीको बैँक खाता भन्ने अभियान थालेको छ । सबै नेपालीलाई बैकिङ्ग पहुँचमा ल्याउनका लागि कति समय लाग्छ ?

‘स्याडो बैकिङ्ग’ जसलाई हामी छायाँ बैंकिङ्ग पनि भन्छौँ, त्यो संसारमा जहाँ पनि छ । त्यो भनेको अनौपचारिक कारोबार संसारमा हुन्छ । विकशित देशमा समेत यो भइरहेको छ भने हाम्रो जस्तो विकासन्मसख देशमा नहुने कुरै भएन । तर, यसको मात्रा घटिरहेको छ । अहिले माइक्रो फाइनान्सहरु गाउँगाउँमा पुगेका छन् । यस्तै अहिले राष्ट्र बैँकको निर्देशन अनुसार केहीमा नपुगे पनि अधिकांश स्थानीय तहमा बैँकका शाखाहरु खुलेका छन् । यसले पनि विस्तारै सबै नेपालीलाई बैकिङ्ग सेवाको पहुँचमा ल्याउन सहयोग गरिरहेको छ ।