काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ)संग पराजित भएको छ । एपीएफले सुदुरपश्चिमलाई ३ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन मात्रै बनाउन सक्यो । १२७ रनको सामान्य लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको एपीएफले पनि सजिलै जित भने हात पार्न सकेन । सुदुरपश्चिमले राम्रो बलिङ गरेपछि सामान्य लक्ष्य भेट्टाउन पनि एपीएफले ३४.४ ओभरमा ७ विकेट गुमाउन पुग्यो ।


ADVERTISEMENT

# # #


एपीएफका लागि कप्तान पृथु बाँस्कोटाले सर्वाधिक ३२ रन बनाए । नटआउट रहेका उनले ४७ बलमा ५ चौका प्रहार गरे । यस्तै शदर भेषवाकरले ३६ बलमा एक छक्का र तीन चौकाको मदतमा २६ रन जोडे । सन्दीप जोराले २२ र सुमित महर्जनले १५ रन बनाउँदा दुबैले समान १ चौका र १ छक्का प्रहार गरे । प्रदीप ऐरी १० रनमा पेवेलियन फर्किए ।

शुदुरपश्चिमका लागि विनोद लामाले तीन विकेट लिए । यसक्रममा १० ओभरमा एक मेडेन राख्दै उनले ३५ रन खर्चिए । कप्तान शेर मल्लले २ विकेट लिए भने नरेन्द्र साउँद र विकास आग्रीले समान १ १ विकेट आफ्नो नाममा लेखाए ।

उसअघि शुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक ३० रन बनाए । उनले ५८ बलमा एक चौका प्रहार गरे । पहिलो विकेटमा लागि खडक बोहरासंग ३१ रनको साझेदारी गरेका बिपिन रावलले ५१ बलमा २ चौकाको मदतमा २१ रन जोड्दा बोहरा १९ रन बनाउँदा रन आउट भए ।

रोहन अधिकारीले १६ रन बनाउँदा कप्तान शेर मल्ल ११ रनमा पेवेलियन फर्किए । अन्यले दोहोरो अंक छुन सकेनन् । सुदुरपश्चिमले पाँच वटा विकेट रन आउटका रुपमा गुमाउँदा सस्तैमा समेटियो ।

एपीएफका लागि अभिनास बोहराले २ विकेट लिए । पृथु बाँस्कोटा, भुवन कार्की र शरद भेषवाकरले समान १-१ विकेट हात पारे । यसअघि प्रदेश नं ३ लाई हराएको एपीएफ आफ्नो विजयी यात्रा कायमै राखेको हो ।