काठमाडौँ – जारी प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा पारस खड्काको कप्तानीमा रहेको प्रदेश नं ३ ले दोस्रो जित हात पारेको छ । मंगलबार भएको खेलमा प्रदेश ३ ले गण्डकी प्रदेश लाई ७ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ३१.१ ओभरमा सबै विकेट गुमाउँदै १०८ रनमात्रै बनाउन सक्यो । इशान पाण्डे र आदिल खानले अविजित ७१ रनको साझेदारी गरेपछि १०९ रनको सामान्य लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको प्रदेश ३ ले सहज जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


प्रदेश ३ लाई जित दिलाउने क्रममा आदिल खानले सर्वाधिक अविजित ३८ रन बनाए । ५३ बलमा उनले ५ चौका प्रहार गरे । यस्तै इएशान पाण्डेले अविजित २६ रन जोडे । ४० बलमा उनले ४ चौका प्रहार गरे । यसअघि पहिलो विकेटका लागि रित गौतम र रविन जोशीले ३४ रनको साझेदारी गरेका थिए । रित गौतमले २० रन बनाउँदा रविन जोशी ११ रनमा आउट भए ।

यता गण्डकी प्रदेशका लागि किशोर महतोले २ विकेट लिए । ५ ओभरमा उनले २८ रन खर्चिए । यस्तै विपीन खत्रीका नाममा १ विकेट रह्यो ।

यसअघि गण्डकीका लागि सुमन घिमिरेले सर्वाधिक ३४ रन बनाए । ३२ बलमा उनले ३ छक्का र एक चौका प्रहार गरे । यस्तै आकाश थापाले २८ रन बनाउँदा राहुल शर्माले १२ रन जोडे । अन्यले दोहोरो अंक छुन सकेनन् ।

प्रदेश ३ को घातक बलिङसामू गण्डकीका ब्याट्सम्यान निरीह देखिए । प्रदेश तीनका लागि कप्तान पारस खड्का र सूर्य तामाङले उत्कृष्ट बलिङ गरे । पारसले ८ ओभरमा मात्र १४ रन खर्चिएर
४ विकेट चट्काए भने सूर्यले ८.१ ओभरमा २९ रन खर्चिएर समान ४ विकेट नै लिए । यस्तै नन्दन यादवका नाममा २ विकेट रह्यो ।

प्रदेश ३ ले तीनमा दुई जित हासिल गरेपछि सेमिफाइनलको नजिक पुगेको छ । यसअघि पहिलो खेलमा एपीएफसंग हार व्यहोरेको प्रदेश ३ ले दोस्रो खेलमा प्रदेश ५ लाई पराजित गरेको थियो । गण्डकी प्रदेशको भने यो पहिलो खेल हो ।